भारतले नेपाललाई २ हजार भाइल रेमडेसिभिर सहयोग
भारत सरकारले नेपाललाई दुई हजार भाइल रेमडेसिभिर औषधी उपहारस्वरुप प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सो औषधी हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौति सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीनलगायत अत्यावश्यक औषधी, जेठ ४ गते कोभिड–१९ टेस्ट किट (आरटी पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोगस्वरुप प्रदान गरिसकेको छ ।
निकटतम मित्र तथा छिमेकीको हैसियतले महामारी विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपालीको साथ रहेको दूतावासले जनाएको छ ।
३० भदौ २०७७, मंगलवार १६:०३ बजे प्रकाशित













