देशमा बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त
 
			उपराष्ट्रति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं। ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजार लगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
उपराष्ट्रपति पुनले बाढीपहिरोका कारण ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘बाढीपहिरोका कारण ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु’
उनले वक्तव्यमा भनेका छन्, ‘उहाँहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।’
उपराष्ट्रपति पुनले बागलुङको ढोरपाटनमा बाढीपहिरोमा परी बेपत्ता हुनुभएकाहरुको अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुहुँदै बेपत्ताहरुको खोजमा संघीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयासलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
उनले बाढीपहिरोबाट विस्थापितहरुका लागि प्रयाप्त राहत र घाइतेहरुको उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपराष्ट्रपति पुनले यस वर्षायाममा बाढीपहिरो र डुबानका कारण ज्यान गुमाएकाका परिवारजनलाई आर्थिक सहायता दिन र घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘यस वर्षको वर्षायाममा बाढीपहिरो, डुबानका कारण सयौं नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले जीवन गुमाउनुभएको छ ।
सयौँ परिवारले आफ्नो घर, जग्गा गुमाउनुभएको छ र विस्थापित हुनुभएको छ’, उपराष्ट्रपतिका वक्तव्यमा भनिएको छ, ‘म बाढीपहिरोका कारण जीवन गुमाउनु भएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न,
अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरबिहिन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उपराष्ट्रपति पुनले भौगर्भिक अवस्थिति, भूकम्प तथा अव्यवस्थित विकास निर्माणको कार्यले देशभर दर्जनौं मानव बस्तीहरु बाढीहिरोको जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरोबाट हुने क्षति न्यूनीकरण गर्न
जोखिममा रहेका मावन बस्तीको सुरक्षित स्थानमा स्थानान्तरण र व्यवस्थित बस्ती विकास एकमात्र विकल्प भएको बताएका छन् ।
उनले जोखिममा रहेका बस्तीहरुको सुरक्षित स्थानमा स्थानान्तरण र व्यवस्थित बस्ती निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुहुँदै जोखिमपूर्ण बस्तीमा रहेका परिवारलाई पनि सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
१९ भदौ २०७७, शुक्रवार १३:४१ बजे प्रकाशित
 
						 




