बागलुङ उडेको गृहमन्त्रीको हेलिकप्टर खराब मौसमका कारण पोखरामा अवतरण
बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर पोखरामै रोकिएको छ।
खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।
‘स्याङ्जासम्म पुगेको थियो तर मौसम खराब रहेकाले अगाडि बढ्न नसकेपछि पोखरामा अवतरण गरिएको हो,’ भट्टराईले भने।
बागलुङमा अहिले भारी वर्षा भइरहेको छ। ‘वर्षा रोकिएपछि जान्छौं, नभए फर्किनेबाहेक विकल्प रहेन,’ उनले भने।
बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।
टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।
१८ भदौ २०७७, बिहीवार १२:५० बजे प्रकाशित





