यौनकर्मीको गूनासो : लकडाउनले गर्दा हामी भोकभोकै बस्न बाध्य छौं

बर्जित गरिएको देह व्यापार गर्नु साकिरा (नाम परिवर्तन) को बाध्यता थियो । जीवन ज्युने सबै विकल्पहरू समाप्त भएपछि उनले बाध्य भएर यो त्यान्द्रो समातेकी थिइन् ।

‘समाजले सम्मान गर्ने पेसा अँगाल्न मन थियो,’ साकिरा प्रतिप्रश्न गर्छिन्, ‘तर नियतिले यही पेसामा ल्याएर हुत्याइ दियो त म के गरूँ ?’

बन्दाबन्दीअघिसम्म उनको गुजारा यही पेसाबाट राम्रैसँग चलेको थियो । तर अहिले अन्य पेसाजस्तै आफ्नो पेसा पनि संकटमा परेको उनी गुनासो गर्छिन् ।

यौनकर्म, यसमा लाग्दाका भुक्तमानलगायत विषयमा उनले खुलेर कुरा गरेकी छिन् ।

यहाँको परिचय ?

–समाजले हामीलाई मान्छे नै ठान्दैन । घृणा गर्छ । परिचय खुलाउँदा बाच्ने अवस्था हुँदैन । त्यसैले वास्तविक नाम बताउन मिल्दैन । साकिरा राखिदिनुस् । घरचाहिँ पूर्व हो ।

देहव्यापार बर्जित छ । कसरी यस्तो पेसा रोज्नु भयो त ?

–औसत महिलाजस्तै मैले पनि घरबार बसाएको थिएँ । त्यहीँ घरलाई सजाउने सुन्दर सपना थियो । तर ‘सोचेझैं जिन्दगी रहिनछ।।।’ भन्ने तीज गीतजस्तै रहेछ जीवन । जीवनभर साथ दिने कसम खाएका श्रीमानले नै जबर्जस्ती घरबाटै निकालिदिए ।

माइती, मावला कसैको साहरा पाइएन । तर पापी पेट यी वस्तुगत अवस्था देखाएर मान्नेवाला थिएन । त्यसपछि कामको खोजीमा लागेँ । तर हातमा सीप भए पो रु केही पाइएन । अनि यतातिर लागियो ।

अनि श्रीमानको अन्यायविरुद्ध बोल्नु भएन त ?

–श्रीमानले अर्की भित्र्याएपछि न्यायका लागि प्रयास पनि गरेकी हुँ । उजुरी गर्न प्रहरीकोमा पनि गएँ । तर त्यताबाट केही भएन । त्यसपछि न्याय भन्ने जिनिस त मरिसकेको रहेछ भनेर छाडी दिएँ । अनि बाध्यतावस बाच्न लागि लागें यौन धन्दामा ।

अर्को विवाह पनि गर्न सक्नुहुन्थ्यो नि होइन ?

–पहिलो विवाह नै भताभुङ्ग भएपछि फेरि उही गल्ती दोहोर्याउन मन लागेन ।

शरीर बेचेर गुजारा चलाउन सकिने कुरा कसरी थाहा पाउनु भयो ?

–जागिरका लागि धेरैतिर चहारेँ । हातमा सीप र शैक्षिक योग्यता दुवै नभएकाले कुनै काम मिलेन । कामको खोजीकै क्रममा बसपार्कतिरको गेस्टहाउसमा पुगियो । गेस्टहाउसवालाले यस्तो पेसा गर्न सुझाए । सुरुमा त यस्तो काम के गर्नु भन्ने लागेको थियो । तर सबै विकल्पका ढोका बन्द भएपछि नचाहेको काम पनि गर्नु पर्दोरहेछ ।

बाँच्नका लागि आफ्नो शरीर कसैलाई सुम्पिँदा कस्तो लाग्यो ?

–सुरुमा त निकै रोएँ । आफैंलाई धिक्कारेँ । कतिपटक त हिनताबोधले आत्महत्या गर्ने प्रयास पनि गरेँ । तर सकिनँ । अहिले त बानी पो परिसक्यो हो ।

कति भयो यो पेसामा आउनु भएको चाहिँ ?

वर्षौं भयो ।

तपाईंहरूका ग्राहकचाहिँ कस्ता हुन्छन् नि ?

–ग्राहक त थरीथरीका हुन्छन् । मेरा ग्राहक त १६-१७ वर्षका किशोरदेखि दाँत फुक्लिएका बुढासम्म हुन्छन् । उरन्ठेउला उमेरका ग्राहकभन्दा बुढाहरूले बढी माया गर्छन् । मसँग बिहे गरौं, यस्तो काम नगर भन्ने दयालु ग्राहक पनि भेटिन्छन् । उमेर ढल्किएकाले तरुनी बेलामा जस्तो ग्राहक पाइँदैन १

कमाइबारे बताउन मिल्छ कि ?

–महिनाको त खासै ठेगान हुँदैन । लकडाउनभन्दा अघि त दिनमा ४र५ हजारसम्म पनि हुन्थ्यो । तर लकडाउनमा त सुख्खा छ । लकडाउनले गर्दा हाम्रो त बिजोग नै छ भन्दा पनि हुन्छ । ग्राहक नै भेटिँदैनन् । लकडाउनले गर्दा हामी यौनकर्मी भोकभोकै बस्न बाध्य छौं । ग्राहक उपलब्ध नभएपछि कसरी बाँच्ने भन्ने पिरलो छ ।

राहत बाँढेको छ नि सरकारले पाउनु भएन ?

–पहिला लकडाउनको बेलामा राहत बाढेको छ भनेर एक दुई ठाउँमा गइयो । घरबेटीको सिफारिस ल्याउन भनियो । घरबेटीलाई सिफारिस गर्दिनु भन्दा कोरोनाको बेला घरभन्दा बाहिर निस्कन हुँदैन, हामी जान सक्दैनौं भनेर भने । त्यसपछि हामी राहत बाँडेको ठाउँमा जान छाड्यौं ।

जसरी पनि धनिलाई नै फाइदा पुग्छ । हामी भोकभोकै भए पनि यहाँ कसैलाई मतलब छैन । सरकारले राहत बाढे पनि हामी जस्तो गरिबको चुलोसम्म पुगेन । साह्रै मन दुख्छ, कसैको त घरबेटीले नै खाना पनि दिएको सुनिन्छ । तर कोही त केही मतलब गर्दैनन् । सिफारिस गर्न पनि लोभ गर्छन् । अलिकति मानवता पनि नभएका मान्छे छन् यो काठमाडौंमा ।

अहिले त जताजतै कोरोना माहामारी छ । यसरी शारीरिक सम्बन्ध राख्दा कोरोनाको डर लाग्दैन ?

–सुरुमा हामीलाई पनि डर लागेको थियो । त्यसैले कतै हिँडेनौं । तर कति दिन यसरी डराएर बस्ने । फेरि चुलो पनि त बाल्नु पर्यो नि त । त्यसैले हामीलाई कोरोनाको डर लाग्न छाडिसक्यो । किनकि, हामीलाई रोगभन्दा भोक ठूलो लाग्छ । त्यसैले कोरोनाको बारेमा हामीले सोच्नै छाडिसक्यौं ।

हामीलाई छाक टार्ने, कोठा भाडा तिर्ने कसरी भन्ने चिन्ताले पिरोलेको छ । साच्चै भन्नुपर्दा हामीलाई मर्न पनि डर लाग्न छाडिसकेको छ । हामीलाई पैसासँग सम्बन्ध छ । अरू कुनै कुराको डर छैन ।

सरकारले कतै जागिर दियो भने गर्नुहुन्छ ?

–हरेक कुराको बाध्यता हुन्छ, नेपालमा पढेका मानिसले त रोजगारी पाएका छैनन्, हामी त अनपढ गोवार कहा“ पाइन्छ रोजगारी रु फेरि नेताका नातागोता र आसेपासेलाई नै भाग नपुगी कहाँ हामीलाई दिन्छन् र ?

 सडक किनारामा बस्दा प्रहरीले पनि दुःख दिन्छ होला हगि ?

–प्रहरीलाई पनि हाम्रो बाध्यताबारे थाहा छ । हामीलाई जसले जे गरे पनि जे भनेपनि केही लाग्दैन । बानी परिसक्यो । हाम्रो काम यही नै हो भन्ने भइसक्यो । नराम्रो शब्द, नराम्रा व्यवहार हाम्रो लागि केही होइन । बेला–बेलामा हामीलाई प्रहरी भन्दा पनि तेस्रो लिंगीहरूको समूहले सताउने गर्छ ।

हामीलाई उनीहरूले हातपात गर्ने, लखेट्ने, पिट्ने गर्छन् । उनीहरूको समूह ठूलो छ, हाम्रो सानो । त्यसैले उनीहरूको सामना गरेर काम गर्न हामीलाई निकै गाह्रो छ ।

-साँघु न्युजबाट

११ भदौ २०७७, बिहीवार १०:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु