‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

प्रधानमन्त्रीको अफर आएको भनेर झुटको खेती

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गरेका छन् ।

ओलीले पार्टीका वरिष्ठ नेता  नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल, प्रचण्डको पुच्छर भएको टिप्पणी गरेका हुन् ।

बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ओलीले यसो भने- ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’

ओलीले अगाडि थपे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, । ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

यसअघि आफूले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?

ओलीले एमाले नेता माधव नेपाललाई ‘लाज सरम पचेको मान्छे’ भनेर टिप्पणीसमेत गरेका छन् ।

१४ असार २०७८, सोमवार १४:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु