गठबन्धनको खटपटले मुख्यमन्त्री आचार्यको कार्यकाल लम्बियो

अल्पमतमा परिसकेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको कार्यकाल थप लम्बिएको छ । गठबन्धन घटकबीचको खटपटका कारण प्रदेशसभाको निर्धारित बैठक आइतबार बस्न नसकी प्रदेश सरकारको कार्यकाल लम्बिएको हो ।
आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची थियो । तर गठबन्धनकै घटक नेपाली काँग्रेसले आइतबारको बैठक स्थगित गर्न प्रदेशसभाका सभामुखलाई पत्र पठायो । आइतबार नेकपा एमालेले पनि प्रदेशसभा बैठक नराख्न सभामुखलाई आग्रह गरेपछि पूर्वनिर्धारित बैठक बस्न सकेन । प्रदेशसभाको अर्को बैठक कार्तिक १५ गतेका लागि राखिएको छ । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।
७ कात्तिक २०७८, आइतवार २२:४४ बजे प्रकाशित