रन्थनिय महन्थ ठाकुर, उनी पक्षका सांसदको पद धरापमा

जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता उपेन्द्र यादव पाउने लगभग निश्चित भएपछि महन्थ ठाकुर पक्षका सांसदहरुको पद धरापमा परेको छ ।

सांसद पद जोगाउनका लागि महन्थ ठाकुरले पनि ४० प्रतिशत पुर्याउनुपर्छ वा जसपामै रहेर मात्रै सांसद पद जोगिने छ ।

निर्वाचन आयोगले गठन गरेको इजलासले हेड काउन्ट गर्ने भनी आयोगमा नागरिकताका साथमा कार्यकारिणी सदस्यहरुलाई उपस्थित हुन जसपाका महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई आदेश दिएको छ । साउन ११ गतेका लागि कार्यकारिणी सदस्यहरुलाई बोलाइएको छ । उपेन्द्र यादवसँग कार्यकारिणी समितिको बहुमत छ । पछिल्लो सूचनाअनुसार ५१ सदस्यीय मध्ये ३३ जना सदस्य उपेन्द्र यादवको पक्षमा छन् ।

बहुमत उपेन्द्र यादवको पक्षमा हुने निश्चित भएपछि महन्थ ठाकुर पक्षमा रहेका संघीय सांसद र प्रदेश सांसदको पद धरापमा परेको हो । निर्वाचन आयोगमा पूर्वप्रमुख आयुक्त आयोधी प्रसाद यादवका अनुसार हेड काउन्टपछि एउटा पक्षले पार्टीको आधिकारिकता पाउँछ भने अर्को पक्षलाई नयाँ पार्टी दर्ता गराउन भन्छ । नयाँ पार्टी दर्ता गराउने पक्षमा रहेका सांसदहरुको पद स्वतः जान्छ ।

यो व्यवस्था राजनैतिक दल सम्बन्धी ऐन २०७३ मा उल्लेख छ । सो ऐनको दफा ३२ अनुसार निज आफैंले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिनेछ । दफा ३१ अनुसार कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दल त्याग गर्न सक्ने छैन ।

कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ भनि सो दफामा उल्लेख गरिएको छ ।

यद्यपि महन्थ ठाकुरले पार्टीमा अझै ४० प्रतिशत पुर्याएर निर्वाचन आयोगमा पेस गर्ने तयारी गरिरहेका छन् तर सो प्रतिशत पुग्ने सम्भावना एकदमै कम रहेको छ ।

 

११ साउन २०७८, सोमवार ०६:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु