प्रधानमन्त्री देउवा र विप्लवबीच ओली सरकारसँग गरेको तीन बुँदे सहमतिबारे छलफल

६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।
विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यही क्रममा आज उनको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको तीन बुँदे सहमतिका विषयमा छलफल भएको विप्लव समूह निकट एक नेताले जानकारी दिए ।
यसअघि विप्लवको टोलीले निवर्तमान प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलगायतसँग भेटघाट गरेको थियो ।
६ साउन २०७८, बुधवार १८:१७ बजे प्रकाशित