वाग्मती प्रदेशसभाको बैठक दिउँसो बस्दै

२६ असार, मकवानपुर । अर्को सूचना नभएसम्मका लागि स्थगित भएको वाग्मती प्रदेशसभाको बैठक शनिबार पुन: बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ बजेट पास गराउनका लागि बैठक बस्न लागेको हो । यस विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद सिर्जना हुँदा प्रदेशसभाको बैठकमा प्रतिपक्षबाट अवरोध सिर्जना भइरहेको छ ।

लगातार तीन दिनसम्म विभिन्न माग राख्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेसँगै प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

बैठकलाई सहजरुपले सञ्चालन गर्न शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसे पनि दलहरुबीच ठोस सहमति भने भएको छैन । सबै दल आ–आफ्नो अडानमा हुँदा कार्यव्यवस्थामा सहमति नजुटेको हो ।

प्रतिपक्षी दलहरुको विरोधका कारण प्रदेशसभामा बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । सरकारलाई साउन १ गतेभित्र सदनबाट पास गराउनुपर्ने बाध्यता छ ।

विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको, समपूरक बजेट र योजना दलगत आधारमा विभदे गरी बाँडफाँड गरेको, प्रदेश सरकारले आमसञ्चार गृह सञ्चालन गर्न नहुने भन्दै प्रतिपक्षी दलहरुले संसदमा अवरोध सिर्जना गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपा बजेट फेल गराउन मोर्चाबन्दी गरिरहेका छन् ।

विपक्षीको मोर्चाबन्दी र आफ्नै दलभित्रको खनाल–नेपाल समूह बजेटको विपक्षमा रहेका कारण सदनबाट बजेट पास हुने अवस्था नरहे पनि सरकारले बैठक आह्वान गरेको हो ।

बैठक अगाडि मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षी दलहरुसँग छलफल गर्ने बुझिएको छ । वाग्मतीमा सत्तारुढ एमालेको एकल बहुमत भए पनि खनाल–नेपाल समूहले सहयोग नगरे सदनबाट बजेट पास हुन सक्दैन ।

पार्टी एकताका लागि भन्दै आगामी आबको नीति तथा कार्यक्रम एमालले एक भएर पारित गरे पनि बजेट पास गर्ने समयमा सत्तारुढ दलका सांसदहरुलाई विभाजित भएका छन् । हाल प्रदेशमा रहेका १०९ सांसदमध्ये एमालेको ५६ जना रहेका छन् ।

जसमध्ये खनाल–नेपाल समूहको २३ मत रहेको छ । प्रदेशमा माओवादीको २३, कांग्रेसको २२, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी र राप्रपा २र२ तथा एकजना स्वतन्त्र सांसद रहेका छन् । बजेट पास गर्नका लागि ५५ मत आवश्यक पर्छ ।

२६ असार २०७८, शनिवार ११:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु