माओवादी फर्किने टोपबहादुर रायमाझीको प्रस्ताव, प्रचण्डले गरे ठाडै अस्विकार

एमाले प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले माओवादी फर्किने प्रस्ताव गरेका छन् । तर, उनको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठाहै अस्वीकार गरेका छन् ।

टोपबहादुरले आफ्नो सम्पर्क सूत्रमार्फत प्रचण्डसम्म कुरा पुर्याएको स्रोतले बतायो । जिल्लाका कार्यकर्ताहरुको चर्को दबाबपछि माओवादीमा फर्कने वातावरण बनाइदिन खुमल्टारसम्म कुरा पुर्याएको बताइन्छ । प्रचण्डले टोपबहादुर को कुरै नगरौं भनेर सम्पर्क सूत्रलाई त्यसै फ़र्काइदिएको बताइएको छ ।

खुमलटारलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘टोपबहादुर अहिले उतै बसेर उतैको भाँडभैलोमा लाग्दा हुन्छ, अहिले तिनको कुरै नगरौं, सबै बिगार्ने यिनै हुन् । टोपबहादुरले पार्टी छोड्दैमा केही हुँदैन ।’

रायमाझीले भने कार्यकर्तामाझ प्रचण्डले बेवास्ता गर्दा ओलीतिर लाग्नुपरेको गुनासो गर्ने गरेको बताइन्छ । निकटहरुका अनुसार रायमाझीले पार्टीभित्र वर्षमान पुन र जनार्दन शर्मा हावी हुँदा अरुले पेलानमा पर्नुपरेको गुनासो सुनाउने गरेका छन् ।

ती नेताका अनुसार एमालेमा जानुपर्नाको कारण प्रष्ट्याउँदै रायमाझीले बेलाबेला जनयुध्ददेखिकै प्रसँग उप्काउने गरेका छन् । जनयुध्दताकाका केही महत्वपूर्ण फौजी आक्रमणमा प्रचण्डले आफ्नो भूमिकालाई कमजोर बनाएको, आफूलाई विश्वास नगरेको जस्ता गुनासा रायमाझीले सुनाउने गरेका हुन् ।

गैरसांसद भएर पनि मन्त्री बनेका उनको पद सर्वोच्च अदालतले फैसलाले खोसिदिएको छ ।

एकातिर मन्त्री पद खोसिएको र अर्कोतिर एमालेभित्र आन्तरिक किचलोको पेलाइमा परेका कारण टोपबहादुर अहिले माओवादीले स्वागत गर्दिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको स्रोतको दाबी छ ।

२४ जेठ २०७८, सोमवार १९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु