विप्लवमाथिको राजनीतिक प्रतिबन्ध हट्यो

सरकारले नेत्रविक्रम चन्दको पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध बिहीबारबाट हट्दैछ ।
सरकार र विप्लव पक्षबीच बुधबार दुईपटक सम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन बिहीबार पुनः बैठक बस्दैछ ।
यस्तै, बिहीबारदेखि नै विप्लवमाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको बताइएको छ ।
बुधबारको वार्ता सकारात्मक भएको र बिहीबारदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको हो ।
बुधबार भएको वार्तामा दुवै पक्ष समान धारणामा पुगेको प्रतिक्रिया सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दिएका थिए ।
रातभरमा अप्रत्याशित र अस्वाभाविक कुनै फेरबदल नभए बिहीबार दिनभरमा राजनीतिक प्रतिबन्ध हटाउने तयारी गरिएको स्रोतले बताएको छ ।
‘भोलि प्रतिबन्ध हटाउने तयारी वास्तवमै भएको हो,’ स्रोतले भन्यो, ‘समय चाही कतिबेला भन्ने एकिन छैन ।’
२० फागुन २०७७, बिहीवार ०६:१७ बजे प्रकाशित