बामदेव र नाराणकाजी तत्काल मन्त्री नबन्ने

रिक्त रहेका तीन मन्त्रालयमा एक दुई दिनमै मन्त्री नियुक्ति गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा एक दुई दिनमै मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन्।

पार्टीभित्र सहमति गरी मन्त्रिमण्डलको समग्र पुनर्गठन भने तिहारपछि गरिने भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको पछिल्लो छलफलमा अर्थ, शहरी विकास र सूचना तथा सञ्चार प्रविधि गरी तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने समझदारी बनेको प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले जनाएको छ।

‘रिक्त रहेका अर्थ, सञ्चार र शहरी विकास मन्त्रालयले छिटो मन्त्री पाउने गरी नयाँ खालको सहमति बनेको छ,’ ओलीनिकट स्रोतले भन्यो।

सोहि आधारमा एक दुई दिनमै रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिनेछ।

यसपटक पूर्वमाओवादी केन्द्रबाट एक र पूर्व एमालेबाट दुई जनालाई मन्त्री बनाइनेछ।

अर्थमा महासचिव विष्णु पौडेल लगभग निश्चित जस्तै भएको स्रोतहरुले जनाएका छन्।

यस्तै पुर्वमाओवादीबाट जनार्दन शर्माको नाम पहिलो नम्बरमा राखिएको छ।

आकांक्षी धेरै भएपनि तत्काल एक मात्र मन्त्रालयमा पठाउने भएकोले उनलाई प्राथमिकतामा राखिएको छ।

यदि उनले प्रस्तावित मन्त्रालयमा जान नचाहे अरु संभावित उम्मेदवारबारे प्रचण्डले छलफल गरेर प्रधानमन्त्री ओलीलाई नाम दिनेछन्।

‘प्रधानमन्त्री ओलीले लामो समय अर्थ मन्त्रालय बोकेर राख्नु हुन्न,’ स्रोतले  भन्यो, ‘कार्यकारी अध्यक्ष प्रचण्डसँग नियमित भएको छलफलमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेर जाने सहमति जुटेको छ, एकदुई दिनमै सो विषय टुंगो लाग्छ।’

यसपटक पुर्वएमालेबाट दुई र पुर्वमाओवादीबाट एकजना मन्त्री बन्नेछन्।

प्रधानमन्त्री ओलीले यसलाई तत्कालको आवश्यकताअनुसारको पुनर्गठन भन्दै समग्र पुनर्गठन भने तिहारलगत्तै गर्ने कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा पहिले सहमत नभएका प्रचण्ड पछिल्ला दिनका बिभिन्न परिस्थितिलाई मध्यनजर गरी सोहिअनुसार समाधान गर्दै अघि बढ्न तयार भएको स्रोतको भनाइ छ।

केहि दिनयता कोरोना महामारी तिब्ररुपमा बढ्दा परिस्थिति जटिल बन्दै गएको, नेताहरुबीच सघन भेटघाट परामर्श गर्न सहज नभएको, अदालतमा वामदेव गौतमको मुद्दा लम्बिएको आदि कारणले गर्दा तत्काल समग्र पुनगर्ठन गर्न संभव नभएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने विषय पनि अदालतले गौतमको मुद्दामा दिने व्याख्यासँग जोडिएको हुँदा सो विषय टुंगो लाग्न केहि दिन लाग्ने निश्चित छ।

यसअघि तीन मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्डले किस्ता किस्तामा गर्नुको साटो समग्र पुनर्गठन गर्नेमै जोड दिइरहेका थिए।

तर सोमबार प्रधानमन्त्री ओलीले लामो समय मन्त्रालय मन्त्रीविहीन रहेको भन्दै रिक्त मन्त्रालयमा तत्काल नियुक्त गर्नुपर्ने कुरा दोहोर्‍याएका थिए।

प्रचण्डले पार्टीमा छलफल नगरी गरिने मन्त्री नियुक्तिमा आफ्नो सहमति नहुने भनेपछि ओलीले प्रधानमन्त्रीको अधिकारमा हस्तक्षेप नगर्न समेत आग्रह गरेका थिए।

 

२१ असोज २०७७, बुधवार २२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु