‘महाधिवेशनमा सहमति नभए अध्यक्षमा माधव नेपालको दाबेदारी रहन्छ’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा दाबी प्रस्तुत गर्ने भएका छन् ।
नेपाल निकट नेता विष्णु रिजाल भन्छन्, ‘माधव नेपाल पछि हटेको होइन, केपी ओली आगामी महाधिवेशनमा नउठ्ने भनेपछि उहाँ झन् स्पष्ट रूपमा अघि बढेको पो देख्छु। महाधिवेशनमा गइसकेपछि बाँकी कुरा कार्यकर्ताले निर्णय गर्छन्।’
अर्का नेता रघुजी पन्तका भनाइमा महाधिवेशनमा सहमति भएन भने अध्यक्षमा माधव नेपालको दाबेदारी रहन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एउटा पद छाड्नै पर्ने नेकपाका थुप्रै उच्च नेताको अडानबीच पनि उनका दुवै पद कायम रहने गरी पछिल्लो सहमति भएको छ।
अर्का अध्यक्ष प्रचण्डलाई नयाँ कार्यकारीको भूमिका बोध गराइएको छ। विवादकै सिलसिलामा वामदेव गौतमलाई राष्ट्रिय सभामा लग्ने निर्णय भएको छ।
वरिष्ठ नेताहरू झलनाथ खनाल निर्णयलाई त्यसरी सङ्कूचित ढङ्गले हेर्न नहुने पक्षमा छन्।
‘सरकार पार्टीको निर्देशन र नेतृत्वमा र पार्टी विधिसम्मत ढङ्गले चल्ने कुरा हो, ‘खनालले भने, ‘नीतिगत र सैद्धान्तिक रूपमा त्यसमा प्रतिवद्धता आएको छ, व्यवहारमा हेर्न बाँकी छ।’
वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्य रघुजी पन्तका बुझाइमा तत्कालका निम्ति गतिरोध अन्त्य भएको छ।
वरिष्ठ नेता नेपाल पक्ष पनि खुलेरै ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष छोड्न लगाउन कस्सिएर लागेको थियो।
कतिपयलाई वर्तमान सहमतिबाट पाउनेभन्दा पनि धेरै उनैले गुमाएको ठान्छन्। तर नेता नेपाल प्रधानमन्त्री छँदा प्रेस सल्लाहकार रहिसकेका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका भनाइमा नेपालले केही गुमाएका छैनन्।
‘एक व्यक्ति एक पदको अवधारणा भन्दै आएको कुरा थियो, त्यो व्यक्ति केन्द्रित थिएन, त्यसमा उहाँ अडिग हुनुहुन्छ र त्यो महाधिवेशनसम्म जान्छ’, रिजाल भन्छन्, ‘उहाँले पार्टीभित्र विवाद आउँदा कहिले प्रधानमन्त्री र कहिले पार्टी अध्यक्ष बन्न गरिएका प्रस्ताव अस्वीकार गरेकै हो, कुनै दौडमा हुनुहुन्थेन, त्यसैले केही गुमाउनु भएको छैन।’
ध्यान महाधिवेशनमा
स्थायी समितिको बैठकले चैतमा महाधिवेशन गर्ने प्रतिवद्धता गरेको छ। तर अरूहरूलाई जस्तै त्यो मितिमा महाधिवेशन हुनेमा वरिष्ठ नेता खनालले पनि आशङ्का व्यक्त गरेका थिए।
नेकपाभित्र शक्तिशाली रहेको पूर्व एमालेमा ठूलो चिरा परेको देखिएकाले उक्त महाधिवेशनप्रति धेरैको चासो पाइन्छ।
सामूहिक नेतृत्वमा चल्न छाडेपछि पार्टीमा सङ्कट आएको नेता पन्तको बुझाइ छ। पूर्व एमाले सुरुदेखि नै व्यवहारिक रूपमा त्यसरी चलेको बताउने उनी ुभविष्यमा पार्टीलाई लोकप्रिय बनाउँदै समझदारीअनुसार अघि बढेमा नेतृत्वको व्यवस्थापनका विकल्पहरू थुप्रै रहेको ठान्छन्।
कतिपयले पछिल्लो विवादका कारण आन्तरिक समिकरणमा आउने फेरबदलले गर्दा नेपाल पछि हट्नुपर्ने बाध्यता देखेका छन्।
प्रचण्ड निकट नेताहरू भने उनी नेताद्वय नेपाल र खनाललाई विश्वासमै लिएर अघि बढ्न चाहेको बताउँछन्।
ूकिनभने पूर्व एमाले लोकतान्त्रिक धारमा दीक्षित भएर आएका छन् तर पूर्व माओवादी सङ्घर्षको बेग्लै पृष्ठभूमिबाट आएका छन् ।
नेकपाभित्र त्रिपक्षीय शक्ति सन्तुलन देखा परेको छ। जसमा दुई पक्षलाई ओली र नेपालले नेतृत्व गरेका छन् भने अर्को पक्षको नेतृत्वमा प्रचण्ड छन्।
पन्तका भनाइमा दुई नेता मिलेर तेस्रोलाई पछार्ने कामले पार्टीमा अस्थिरता भइरहन्छ, त्यसैले तीनवटै पक्षलाई मिलाएर लग्ने नेतृत्व आवश्यक छ। र, महाधिवेशनमा सहमति भएन भने अध्यक्षमा नेता नेपालको दाबेदारी रहन्छ।
२८ भदौ २०७७, आइतवार ०८:४४ बजे प्रकाशित













