लन्डनमा हुने नेपाली मेला कोरोनाका कारण स्थगित

नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा झल्काउने र धर्म, परम्परा जीवन्त राख्ने उद्देश्यले विगत ११ वर्षदेखि निरन्तर रुपमा ओजना हुँदै आएको नेपाली मेला यसपटक नहुने भएको छ ।

हजारौंको संख्यामा मानिसहरुको भीड लाग्ने उक्त मेलामा युरोप लगायत अन्य मुलुकबाट समेत नेपालीहरुको सहभागिता रहने गर्दछ । वर्षेनी आयोजना गरिने उक्त मेला नेपाली समूदायबीच निकै लोकप्रिय रहेको छ ।

कार्यक्रममा विभिन्न विदेशी पाहुनाहरुको पनि बाक्लो उपस्थिति रहने गर्दछ ।

तमुधिं यूकेद्वारा लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुदै आएको नेपाली मेला यसपटक कोरोना भाइरस ९ कोभिड १९ ० को प्रकोपका कारण स्थगित गरिएको तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिएका छन् । सो मेला ३० अगष्ट २०२० मा लण्डनस्थित केम्प्टन पार्कमा गर्ने तय गरिएको थियो ।

लन्डनस्थित नेपाली दूतावासले पनि नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा झल्काउने र धर्म, परम्परा जीवन्त राख्ने उक्त मेलालाई विशेष चासो दिने गरेको छ । मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राख्ने गरिन्छ । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा, विभिन्न जातजातीको झांकी र युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गर्ने गर्छन् ।

मेलामा दुई दर्जनभन्दा बढी नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने गर्दछन ।  कार्यक्रममा नेपालबाट समेत विशिष्ट व्यक्ति तथा कलाकारहरुको उपस्थिति हुने गर्दछ ।

३० साउन २०७७, शुक्रवार ०८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु