चिनियाँ राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई

१ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी छन्।
शुक्रबार दिउँसो राजदूत यान्छी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विट गर्दै राजदूतसँग भेट भएको जानकारी दिएका हुन्।
भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् । प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।
उनले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताएका थिए। ‘आज बालुवाटारमा मैले चिनियाँ राजदूत होउ यान्छीलाई भेटेँ। म चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने छु,’ प्रधानमन्त्री देउवाले लेखेका छन्।
यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्यान्डी बेरी बुढानिलकण्ठ पुगेका थिए।
१ साउन २०७८, शुक्रवार १५:३३ बजे प्रकाशित