उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाउने निर्णय, भोलिदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए ।

ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ ।

१४ असार २०७८, सोमवार १३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु