जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने ३ जिल्लाका सीडीओको तयारी

१३ असार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरुको बैठक सकिएको छ । तर निषेधाज्ञाबारे निर्णय भोलि मात्रै गरिने भएको छ ।

आज बसेको बैठकले मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल गरेपनि त्यसबारे थप भोलि निर्णय गरिने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइनेछ  ।

उनले सार्वजनिक यातायात सञ्चालनको सन्दर्भमा प्रस्ताव आएपनि त्यसबारे आपसी छलफल गरेर मात्रै थप निर्णय गरिने बताए ।

उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।

आज बसेको ललितपुरको डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव तीनै जिल्लाको बैठकमा लैजाने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का एक पदाधिकारीले  भने, ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत हुनुहुन्छ, सवारीसाधनको विषयमा टुंगो लागेको छैन ।’

ललितपुरको डीसीसीएमसीले भने जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

एक अधिकारीका अनुसार संक्रमण निरन्तर घटेको र यातायात व्यवसायी तथा मजदुर संगठनले पनि निरन्तर दबाव दिएकाले सार्वजनिक सवारी सञ्चालनका लागि सिफारिस गरिएको हो ।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो ।

थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।

१३ असार २०७८, आइतवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु