जाजरकोटको कुशे पाटनमा बेपत्ता सात जनाको सकुशल उद्धार

४ असार, जाजरकोट । प्रहरीले जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका गोठालाहरूको सकुशल उद्धार गरेको छ । हावाहुरीका कारण ४ दिनदेखि कुशे हिमालको जलजला पाटनमा हराइरहेका कुशे गाउँपालिका ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो ।
बेपत्ताको खोजी गर्नको लागि प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर जलजला पाटन पुगेको थियो । शुक्रबार बिहान मौसम खुलेपछि प्रहरी टोली जलजला पाटनमा पुगेर बेपत्तालाई फेला पारेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।
गोठालाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको डीएसपी थापाले बताए । चिसो र ४ दिनदेखि भोकै रहेका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएकाले प्राथमिक उपचार सुरु गरिएको उनले बताए । भेडा, बाख्रा, गाईभैंसी पाटन छाड्न गएका उनीहरु ठूलो हावाहुरी पानीका कारण सम्पर्कविहीन भएका थिए ।
कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए ।
हावाहुरीका कारण पाटनमा दर्जनौं पशुचौपाया मरेको डीएसपी थापाले जानकारी दिए । मौसम प्रतिकुल भएकाले पाटन पुगेको प्रहरी टोलीले के कति क्षति भयो भन्नेचाहिँ यकिन गर्न नसकेको उनको भनाइ छ ।
पाटनमा हराएकाको हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटले गृह मन्त्रालयलाई बिहीबार अनुरोध गरेको थियो । हेलिकप्टरद्वारा खोजी गर्न तयारी गरिरहेका बेला उनीहरूलाई पैदल नै गएको प्रहरी टोलीले उद्धार गरेको हो ।
४ असार २०७८, शुक्रवार ११:३२ बजे प्रकाशित