काभ्रेमा बाटो खन्दा फेला पर्‍यो यस्तो मूर्ति

काभ्रेको धुलिखेल नगरपालिका-३, बतासे डाँडामा बाटो निर्माण गर्दा  मूर्ति फेला परेको हो।

चंखुबेसी मार्ग निर्माणका लागि बाटो खन्ने, सम्याउने काम भइसकेपछि ढलान गर्न ढुंगा बिच्छ्याइँदै थियो। यस क्रममा ढुंगा बाटोछेउ राखिएको थियो।

एक दिन एक स्थानीय त्यही बाटो हुँदै जाँदा वनदेवीथान नजिक एउटा अनौठो ढुंगा देखे। त्यसलाई नजिकै गएर सफा गर्दा पुरानो मूर्तिजस्तो देखेपछि उनले अरूलाई पनि बताए। धेरै मान्छबाट धेरै कुरा आए पनि मूर्ति धेरै वर्ष पुरानो भन्ने सबैको साझा अड्कल थियो।

मूर्तिको दायाँ हात काटिएको छ भने कम्मर मुनिको भाग छुट्टिएको छ। मूर्तिको पछाडि कलात्मक बुट्टा कोरिएको छ। स्वरूप हेर्दा विरुपाक्षको मूर्ति हो कि भन्ने कुरा आएको छ तर यकिन जवाफ भेटिनसकेको धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जुले बताए।

मूर्ति बाटो बनाउन रोशी खोलाको ढुंगाखानीबाट ल्याइएको ढुंगासँगै आएको रहेछ, उनले भने, मूर्तिको स्वरुपअनुसार विभिन्न कुरा आइरहेको छ तर यो नै भन्ने पुष्टि भइसकेको छैन।

गाउँमा मूर्ति भेटिएपछि सुरूमा बाटोछेउ एउटा मन्दिर बनाउने भनियो। मूर्ति धेरै पुरानो हुनसक्ने कुरा आइसकेपछि यसको संरक्षणका लागि उनीहरूले धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरे।

मेयर ब्याञ्जुका अनुसार उक्त मूर्तिबारे पूरातत्व विभागलाई जानकारी गराइएको छ।

‘पुरातत्व विभागबाट नै सत्य कुरा थाहा हुन्छ। त्यतिन्जेल नगरपालिकाको संरक्षणमा राखिन्छ। त्यसपछि मूर्तिलाई यहीँ म्यूजियममा राख्ने वा कहाँ राख्ने, के गर्न भन्ने निर्णय गरिन्छ,’ उनले भने।

 

८ भदौ २०७७, सोमवार २२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु