सामाजिक कुरीतिविरुद्ध एक हुनुपर्छ : उपप्रम मैनाली

DPM-CP-Mainaliकाठमाडौँ, १९ असार । ‘बालबालिकाको इच्छाः विवाह हैन शिक्षा’ भन्ने नाराका साथ देशका विभिन्न एफएम रेडियोबाट बाल विवाहविरुद्ध अभिभावकलाई शिक्षित तुल्याउन नयाँ रेडियो नाटक शृङ्खला ‘मितिनी’ सुरु भएको छ ।

नेपाल वातावरण पत्रकार समूहको सामुदायिक रेडियो सहयोग केन्द्र÷रेडियो सगरमाथाबाट उत्पादन गरिएको ‘मितिनी’ रेडियो नाटक शृङ्खलाको लेखन कवि श्रवण मुकारुङ र निर्देशन नाट्यकर्मी अनुप बरालले गर्नुभएको छ । यो नाटक हरेक शनिबार साँझ रेडियो सगरमाथासहित देशका ५० भन्दा बढी एफएम स्टेसनबाट प्रसारण हुने गरेको छ ।

नेपाली समाजको वस्तुस्थिति चित्रण गरी बनाइएको यो नाट्य शृङ्खलामा नेपाली संस्कृति र साहित्यलाई पनि समावेश गरी नयाँपन दिन खोजिएको छ ।

उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले सो रेडियो शृङ्खला ‘मितिनी’ को आज राजधानीमा आयोजित समारोहमा औपचारिक शुभारम्भ गर्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री मैनालीले नेपाली समाजमा विद्यमान कुरीति समाप्त गर्न सबैले आआफ्नो ठाउँबाट सक्रिय सहयोग गर्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री मैनालीले भन्नुभयो, “२०७२ को विनाशकारी भूकम्प र लामो नाकाबन्दीका कारण भूकम्पप्रभावित जिल्लामा गरिबी बढेका कारण बालविवाहजस्ता कुरीतिले टाउको उठाउन थालेको छ, जुन अत्यन्त दुःखद छ ।”

उहाँले नेपाल सरकारले आगामी सन् २०३० सम्ममा नेपालबाट बालविवाह अन्त्य गर्ने घोषणा गरिसकेको सन्दर्भमा सबैपक्ष एकजुट भएर यो सामाजिक कुरीतिविरुद्ध देशभर जागरण फैलाउन सक्नुपर्ने बताउनुभयो ।

नेपाल वातावरण पत्रकार समूहका महासचिव निमेष रेग्मीले रेडियो सगरमाथा, ‘आँखीझ्याल’, ‘हाकाहाकी’ पत्रिका समेतको प्रयोगमार्फत समाजमा जागरण र पहरेदारीको काममा समूहले विगत ३० वर्षदेखि निरन्तर कार्य गरिरहेको छ भन्नुभयो ।

फ्रि प्रेस अनलिमिटेडका डेसी डामियानोभाले नेपालमा महिलाको जनसङ्ख्या एक करोड ४० लाख रहेको र त्यसमध्ये हरेक वर्ष विवाहका लागि उमेर नपुगेका सात लाख बालिकाको विवाह हुने गरेको बताउनुभयो ।

सो अवसरमा नेपाल वातावरण पत्रकार समूह ९नेवापस० का अध्यक्ष सहजमान श्रेष्ठ, सिविनका अध्यक्ष माधव प्रधान, रेस्टलेस डेभलपमेन्टका देशीय निर्देशक रवीन्द्र शाक्य, नेवापस सामुदायिक रेडियो सहयोग केन्द्रका संयोजक रघु मैनालीलगायतले बालविवाहका विरुद्धमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने योजनाबमोजिम रेडियो नाटक शृङ्खला आरम्भ गरिएको बताउनुभयो ।

यो नाट्य शृङ्खलाको उत्पादन र प्रसारणका लागि फ्रि प्रेस अनलिमिटेड र डान्स फर लाइफले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको बताइएको छ ।

रासस

१९ असार २०७३, आइतवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु