‘स्वच्छ र स्वस्थ मासु अभियान, २०७२’
काठमाण्डौँ, १२ चैत । गएको पुस ९ गते नयाँ मन्त्रालय स्थापना भएपछि पशुपक्षी विकास मन्त्रालय औपचारिक रुपमा ४० बुँदे प्रतिबद्धता सार्वजनिक गर्यो । पत्रमा एक वर्ष, दूधमा दुई वर्ष र मासुमा तीन वर्ष्भित्र आत्मनिर्भर भइसक्ने उल्लेख छ । बधशाला देखी भान्सासम्म स्वस्थ मासु पुर्याउने भनिएको थियो । प्रतवद्धता बमोजिम सरकारले मुलुकभर सञ्चालन भएका मासु पसलको अनुगमन तथा निरीक्षण गर्ने तयारी समेत गरेको छ । पशुपक्षी विकास मन्त्रालय तथा मातहतका निकायबाट यही चैत १४ देखि २० सम्म वधशालादेखि मासु पसलसम्म अनुगमन तथा निरीक्षण राष्ट्रिय अभियान सञ्चालन गर्न लागिएको हो । मन्त्रालयले बिहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले तीन महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धतानुसार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘स्वच्छ र स्वस्थ मासु अभियान, २०७२’ कार्यक्रम अन्तर्गत चैत १४ गते प्रभातफेरी गरिने र चैत १५ गतेदेखि अनुगमन तथा निरीक्षण कार्यक्रम थालनी गरिने भएको छ । मानव शरीरमा ७० प्रतिशत रोग अस्वस्थ मासु खाँदा हुने हुँदा मन्त्रालयले उपभोक्तालाई सचेत गराउने उद्देश्यले सप्ताहव्यापी अभियान सुरु गर्न लागेको हो । अभियानअन्तर्गत पसल निरीक्षण, काँचो मासु सङ्कलन तथा जनचेतनामूलक कार्यक्रम गरिनेछ ।
१२ चैत २०७२, शुक्रवार ०८:१६ बजे प्रकाशित