फलफूल र तरकारीबाट कोरोना सर्दैन
२२ डिग्री तापक्रममा भाइरसको सर्भाइवलबारे गरिएको एक अनुसन्धानका अनुसार काठ र कपडामा २ दिनसम्म भाइरस देखियो। त्यस्तै ग्लास र रुपैयाँको नोटमा ४ दिनसम्म भाइरस देखिएको थियो। सर्जिकल मास्कमा ७ दिनसम्म देखिएको थियो। तर टिस्यु र प्रिन्टिङ पेपरमा भाइरस देखिएन।
त्यही भएर एउटा मास्क धेरै दिन लगायो वा जथाभाबी लगायो भने संक्रमण हुन सक्छ। साबुन पानीले हात धुनु राम्रो हो।
नोट र कपडामा भाइरस भए पनि त्यसबाट हाम्रो नाकमा छिर्यो भनेमात्रै भाइरसले आक्रमण गर्ने हो। त्यही कारणले हात धुने र मास्कले नाक मुख छेक्नु पर्छ भनेको हो। आँखामा पनि भाइरसको असर हुन्छ। भाइरस आँखामा गयो भने संक्रमण हुन्छ, जसले गर्दा आँखा पाक्ने, चिलाउने हुनसक्छ। आँखाबाट श्वासप्रश्वास प्रणालीमा भाइरस गएर कोभिड संक्रमण हुँदैन। यो रोग कानबाट सर्दैन। मुख्य रूपमा नाकबाट सर्ने हो। खाएको खानेकुराबाट भाइरस सर्दैन।
कोरोनाको यही लक्षण हुन्छ भनेर भन्न सकिने अवस्था छैन। धेरैलाई ज्वरो आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने हुन्छ। योबाहेक कसैलाई झाडापखाला र वाकवाकी पनि लाग्न सक्छ। मान्छे अनुसार फरक फरक लक्षण देखिने भएकाले यसै भन्न सकिँदैन।
फलफूल र तरकारीमा भाइरसको असर हुँदैन
फलफूल, तरकारी र दूधबाट कोरोना भाइरसको संक्रमण सर्ने खतरा निकै कम हुन्छ। पसलमा सामान किन्दा मास्क लगाउने र निश्चित दूरी कायम गरेर किन्नुपर्छ।
फलफूल, तरकारीमा भाइरस रहिरहन सक्दैन। घर ल्याएको सामान पखालेर प्रयोग गर्न सकिन्छ। सकेसम्म पकाएर खाने बानी बसाल्नुपर्छ। नपकाइकन खाने सलाद र फलफूललाई सफा पानीले पखालेर खाँदा फरक पर्दैन। खानेकुरालाई ७० डिग्री सेन्टिग्रेटमा ५ मिनेटसम्म पकायो भने भाइरस मर्छ। पकाएर खाएको खानामा भाइरस हुँदैन।
सकेसम्म बाहिरको प्लाष्टिकलाई घरभित्र प्रयोग नगरेकै राम्रो हो।
दूधमा पनि यो भाइरस रहँदैन। दूध उमालेरमात्रै खाने भएकाले पनि डराउनु पर्दैन।
कार्यालयमा धेरै भीड नगरौं, एक अर्कासँग गफ पनि नगरेकै राम्रो
यस्तो बेलामा भीडभाड हुने कार्यालयमा सबैभन्दा धेरै खतरा छ। धेरै थरीका मानिस आउँछन्। कोरोना लागेका सबैलाई ज्वरो आउँछ भन्ने छैन। ज्वरो छैन भन्दैमा कोरोनाभाइरसको संक्रमण छैन भन्ने पनि हुँदैन।
केही दिनअघि कर कार्यालमा कति धेरै भीड थियो। त्यस्तो अवस्थामा टोकनको व्यवस्था गर्न सकिन्छ। सकेसम्म अनलाइनमार्फत् काम गर्न प्रयास गर्ने र कार्यालय आउनै परे थोरै कर्मचारीमात्रै बोलाउनु र भौतिक दूरी कायम गर्नु राम्रो हो।
त्यस्तै कार्यालयमा बाहिरका मान्छेलाई पनि जथाभाबी आउन दिनु हुँदैन।
कार्यालयमा कर्मचारीलाई थोरै बोल्न लगाउनु पर्छ। दूरी कायम गर्ने अनि हाँस्ने, बोल्ने हो भने बाहिर गएर खुला ठाउँमा गर्नुपर्छ। कार्यालयमा बसेर गफिने बानी हटाउनु पर्छ। एउटा व्यक्तिले प्रयोग गरेको टेबुल, कम्प्युटर अरूले चलाउनु हुँदैन किनकी टेबुलमा हात राखिन्छ र कुर्सीको छेउमा कम्प्युटरको किबोर्ड माउसमा पनि हात गइरहेको हुन्छ। एउटै व्यक्तिले चलाउँदा यसलाई बेलाबेलामा डिसइन्फेक्सन गर्नुपर्छ।
काम गर्दा प्रयोग हुने कुर्सी, टेबुल र कम्प्युटरलाई सकेसम्म एकै दिनमा पटक पटक डिसइन्फेक्सन गर्नुपर्छ। दिनमा एक पटक त गर्नैपर्छ।
यस्तो बेलामा यातायातको सवालमा सबैभन्दा राम्रो हिँड्नु हो। एक्लै हिँड्दा आफू जोगिएर हिँड्न पाइने भएकाले अर्काबाट सर्ने खतरा कम हुन्छ। कसैसँग नजिक हुन पनि पर्दैन।
दोस्रो साइकल र मोटरसाइकल हो। खुल्ला हावाबाट यो रोग सर्दैन।
प्राइभेट गाडी एक्लैले चलाएको छ भने धेरै जोखिम हुँदैन। त्यसैले सकेसम्म आफ्नो गाडी आफैंले चलाएको राम्रो हो। गाडीबाहिर टल्काउने भन्दा पनि गाडीको भित्री सफाइमा ध्यान दिनुपर्छ। परिवारसँग जानु पर्यो भने पहिलाजस्तो धेरै जना बस्नु हुँदैन। गाडीमा ठाउँ खाली गरेर राख्नुपर्छ। सकेसम्म बाहिरका मानिस राख्नु हुँदैन। गाडीमा एसी चलाउनभन्दा झ्याल खोल्नु राम्रो हो। एसी चलाउदा पनि नन रिसर्कुलेट मोडमा राख्नुपर्छ।
सबैभन्दा डर ट्याक्सीमा हुन्छ। चालक संक्रमित होला, नहोला तर त्योबाहेक यात्रु पछाडीको सिटमा बस्नुपर्छ। अनि चालकले पनि भित्र सफा गर्नपर्छ। ट्याक्सीमा बस्दा गफ गर्न र फोन गर्नु हुँदैन। मिल्छ भने ट्याक्सी चालक र पछाडि बस्नेको बिचमा ुब्यारियरु राख्नुपर्छ। कोरोना महामारी कहिलेसम्म जान्छ भनेर टुंगो नभएकाले सबै ट्याक्सीमा चालक र यात्रुको बीचमा प्लाष्टिकले छेक्नुपर्छ ताकी एक अर्कालाई भाइरस सर्न नपाओस्।
बसमा यात्रा गर्दा यात्रु आफैंले ध्यान दिनुपर्छ। पन्ध्र मिनेट, आधा घन्टा ढिलो भएर केही हुँदैन। त्यसैले धेरै मान्छे भएको बसमा यात्रा गर्नु हुँदैन। बसमा यात्रा गर्दा जथाभाबी हात समाउनु हुँदैन भने सकेसम्म पन्जा लगाउनु पर्छ। पन्जा छैन भने टिस्यु पेपर हातमा राखेर समाउँदा पनि हुन्छ। गाडीमा धेरै बोल्नु हुँदैन भने भीडभाडबाट बच्नु अनिवार्य छ।
३० साउन २०७७, शुक्रवार १४:५७ बजे प्रकाशित












