१५ किलो सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई पक्राउ पूर्जी, संगठित अपराधमा म्याद थप

प्रहरीले १५ किलो पहेँलो धातु सम्बन्धी प्रकरणमा मुछिएका दुई जना प्रहरी जवानलाई पनि पक्राउ गरेको छ । साथै, उनीहरुलाई संगठित अपराध एवं हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आइतबार म्याद थप गरेको छ ।
प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठलाई तस्कर समूहसँग साँठगाँठ गरेको अभियोग लागेको थियो । लगत्तै उनीहरुलाई आन्तरिक रुपमा नियन्त्रणमा लिएर सोधपुछ थालिए पनि आइतबार मात्र पक्राउ पूर्जी दिइएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले दुवै जना प्रहरी जवानलाई अन्य अभियुक्तसँगै मिल्ने गरी म्याद मिलान गरिएको अनलाइनखबरलाई बताए । प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दिप गुरुङ गुरुङ यसअघि नै पक्राउ परिसकेका थिए ।
पक्राउ पर्ने मध्ये गुरुङ तस्कर समूहले नागढुंगाबाट भाग्न प्रयोग गरेको ट्याक्सीका चालक हुन् । उनलाई सुनकाण्डबारे कुनै जानकारी छैन । यद्यपि, प्रहरीले संगठित अपराधमा म्याद थपेको छ । अनुसन्धान अधिकृतहरुले भने उनलाई बयान गराएर छाड्ने बताएका छन् ।
घटनामा प्रहरीकै मिलेमतो पाइएपछि अहिले यो प्रकरणको चर्चा भइरहेको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।
उनलाई विभागीय कारबाही गर्ने एसएसपी शुशिलकुमार यादव नेतृत्वको समितिले तयारी गरिरहेको छ ।
१८ साउन २०७७, आइतवार २३:१८ बजे प्रकाशित