रात परेलगत्तै पर्वतमा पहिरो, २ को मृत्यु, ६ बेपत्ता
कास्की । पर्वतको कुश्मा नगरपालिका वडा नं। ३ स्थित ढकाल थर भन्ने स्थानमा शनिबार राति पहिरो भएको छ ।
अविरल वर्षापछिको पहिरोले २ घर बगाउनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । यसैगरी दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको शव फेला परेको जानकारी दिए ।
यस्तै केही व्यक्ति बेपत्ता भएको जानकारी आएपनि के कति संख्यामा बेपत्ता भए भन्नेबारे जानकारी आइनसकेको उनले बताए ।
यता पर्वतस्थित नेपाली सेनाका मेजर अर्जुन दुलालले ६ जना हराएको आशंका गरिएको बताए । ढकाल थरमा गएको पहिरोले २ घर बगाएको र एक घरमा क्षति पुगेको जानकारी भन्दै उनले ६ जना बेपत्ता भएको खबर स्थानीयले दिएको उनले बताए ।
स्थानीयले ८ जना सम्पर्कमा नभएको जानकारी गराएकोमा २ जनाको शव भेटिएको र अन्यको खोजीकार्य भइरहेको उनको भनाइ छ ।
अहिलेपनि घटनास्थलमा वर्षा चलिरहेकाले विभिन्न कठीनाइका बीच उद्धार चलिरहेको उनले बताए ।
३१ जेठ २०७७, शनिवार १७:५९ बजे प्रकाशित





