सरिता गिरीले नक्सा सम्बन्धी संविधान संशोधनमा विपक्षका मत दिने !
२७ जेठ, काठमाडौं । सरकारले लिम्पयाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई संवैधानिक मान्यता दिन संविधान संशोधन गर्न लागिरहेका बेला समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको भाग हो भन्ने स्वीकार नगर्ने दोहोर्याएकी छन् ।
पछिल्लोपटक प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले लिम्पियाधुरा नेपालको हो भन्ने मान्न आपूm तयार नभएको बताएकी हुन् ।
‘लिम्पियाधुरा नेपालको हो, म स्वीकार गर्दिनँ अहिलेको नक्साअनुसार । काली नदीको पूर्व नेपाल पश्चिम भारत, यति कुरा गरौँ । सन्धिमा लिम्पियाधुरा लेखेको छैन । राजा महेन्द्रले बनाएको नक्सामा लिम्पियाधुरा छ ? छैन ।’ सरिता गिरीको भनाई छ ।
मंगलबारदेखि प्रतिनिधि सभामा नक्सा सम्बन्धी संविधान संशोधनमाथि सैद्धान्तिक छलफल हुँदैछ । सांसद गिरी भने निरन्तर लिम्पियाधुरा नेपालको नभएको भन्दै विपक्षमा मत दिइरहेकी छन् ।
मतदानबाटै लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सालाई संवैधानिक मान्यता दिन खोजिए त्यसको विपक्षमा मत दिने उनको तयारी छ । सोहीअनुसार सांसद सरिता गिरीेले आपत्तिजनक अभिव्यक्तिको शृृंखलालाई निरन्तरता दिएकी छन् । उनको दल समाजवादी पार्टी भने मौन छ ।
नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा सांसद गिरीको आपत्ति जनाइरहँदा उनको पार्टीले केही बोलेको छैन् ।
राष्ट्रियताको संवेदनशील विषयमा सांसद सरिता गिरीले एकपछि अर्को आपत्तिजनक अभिव्यक्ति दिइरहँदा पनि समाजवादीका कोही नेताले त्यसको विरोध गरेका छैनन् ।
टेलिभिजन अन्तर्वार्ता र सामाजिक सञ्जालमा मात्र होइन, संसदमा पनि उनले नेपालले एकपक्षीय रूपमा नक्सा जारी गरेको भन्दै आपत्ति जनाउँदै आएकी छन् ।
तर, नेपालले नक्सा जारी गर्नुभन्दा अघि ६ महिनाअघि गत नोभेम्बर २ मा भारतले नेपाली भूमि समेटेर एकपक्षीय रूपमा नक्सा जारी गरेको विषयलाई उनले ढाकछोप गर्न खोजेकी छन् ।
२७ जेठ २०७७, मंगलवार ०३:०२ बजे प्रकाशित





