एमसीसी विवाद: पास गराउन लबिङ गर्दै प्रधानमन्त्री, खनाल र रावल विपक्षमा
काठमाडौँ । लामोसमयदेखि थाँती रहेको नेपाल सरकार र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग भएको सम्झौता एमसीसी टुंगाउने विषयमा सत्तारुढ दल नेकपाभित्र गृहकार्य सुरु भएको छ ।
एमसीसीलाई लिएर नेकपाका शीर्ष नेताहरुले महत्वपूर्ण छलफल गरेका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालयले एमसीसीबारे सरोकारवालाहरुसँग छलफल गरेको छ ।
शनिबार अपरान्ह बोलाइएको सचिवालयको अनौपचारिक बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए ।
तर, उनीसँगको सल्लाहअनुसार सचिवालयका अन्य सदस्यले सरोकारवालापक्षसँग छलफल र परामर्श गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सचिवालयको अनौपचारिक बैठक अगाडि बिहान अध्यक्ष पुष्पकमल दाहालले केही नेताहरुसँग यसै विषयमा छलफल गरेका थिए । एमसीसीबारे फेरि विवाद बढ्न थालेपछि सचिवालयका असन्तुष्ट नेताहरुले अध्यक्ष दाहाललाई भेटेर पार्टीमा छलफल गर्न आग्रह गरेका थिए ।
स्रोतका अनुसार सचिवालयका बहुमत सदस्यहरु एमसीसी अमेरिकाको इन्डो(प्यासिफिक स्ट्राटेजीको अंश भए नभएकोबारे एकपटक अमेरिकासँग कुरा गरेर यसलाई टुंगाउने मनस्थितिमा पुगेका छन् । यही मनस्थितिअनुसार सचिवालयले सबै सरोकारवालासँग छलफल गरेको हो ।
सचिवालयको अनौपचारिक बैठकमा अर्थमन्त्री युवराज खतिवडा, उर्जा मन्त्री बर्षमान पुन, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टलाई बोलाएर छलफल गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
१० जेठ २०७७, शनिवार १४:४८ बजे प्रकाशित












