दशगजामा ल्याएर छाडिएका ९१ नेपालीलाई भारतीय अधिकारीको जिम्मा लगाइयो
भारतीय सुरक्षाकर्मीले दशगजामा ल्याएर छाडेका ९१ जना नेपालीलाई पुनः भारतीय अधिकारीको जिम्मा लगाइएको छ ।
बिहीबार राति भारतीय सुरक्षाकर्मीले भारतको विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएका एक सय २३ जना नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाडिदिएका थिए ।
त्यसरी छाडिएकामध्ये ९१ जनालाई पुनः क्वारेन्टाइनमै राख्ने गरी भारतीय अधिकारीहरूको जिम्मा लगाइएको हो । उनीहरूलाई भारतीय अधिकारीहरूले लिएर गएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।
‘उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी भारतीय अधिकारीहरूको जिम्मा लगाएका हौँ,’ जिसीले भने, ‘यता ल्याउँदाभन्दा उनीहरूलाई उतै राम्रो व्यवस्थापन हुने देखियो ।’ दशगजामा छाडिएकामध्ये २४ जना भने लुकिछिपी सर्लाहीको चन्द्रनगर आइपुगेका छन् ।
उनीहरूलाई पनि चन्द्रनगरस्थित कामद माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए ।
भारतको उत्तर प्रदेशमा काम गर्न पुगेका उनीहरू लकडाउनको समयमा १० दिन पहिले मात्र सीमावर्ती क्षेत्र आइपुगेका हुन् । त्यतिवेला भारतीय अधिकारीसँगको सहकार्यमा उनीहरूलाई उतै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको थियो ।
लकडाउन सुरु भएयता मात्र भारतका विभिन्न स्थानबाट ६३ जना भारतीय र नेपाल प्रहरीको आँखा छलेर सर्लाही छिरिसकेका छन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
६ वैशाख २०७७, शनिवार ००:१२ बजे प्रकाशित





