चीनले कोरोनाको तथ्याङ्क लुकाएको आशंका- एकैदिन करिब १३ सयको मृत्यु कसरी देखियो ?
कोरोना भाइरस संक्रमणको उद्गम मुलुक भए पनि पछिल्लो समय चीनमा संक्रमित हुनेहरूको संख्या निकै कम हुन थालेको थियो । संक्रमणबाट मृत्यु हुनेहरूको संख्या पनि निकै कम थियो । शुक्रबार ९५ वैशाख० बिहानसम्म चीनमा संक्रमणबाट मृत्यु हुनेहरूको संख्या तीन हजार तीन सय ४२ मात्र रहेको कोरोना भाइरस संक्रमणसम्बन्धी तथ्यांक सार्वजनिक गरिरहेको वर्ल्डोमिटरले उल्लेख गरेको थियो ।
तर, त्यही वर्ल्डोमिटरले शुक्रबार भाइरस संक्रमणबाट चीनमा मृत्यु हुनेहरूको संख्याबारे फरक तथ्यांक दियो । संक्रमण सुरु भएयता चार महिनाको अवधिमा कोरोना भाइरसबाट चीनमा तीन हजार तीन सय ४२ को मृत्यु भएको तथ्यांक दिएको वर्ल्डोमिटरले शुक्रबार साँझ भन्यो– कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेहरूको संख्या चार हजार ६ सय ३२ पुगेको छ ।
अर्थात् एकै दिन एक हजार दुई सय ९० को मृत्यु । कोरोना संक्रमणलाई करिबकरिब नियन्त्रण गरेको र ‘लकडाउन’समेत हटाउँदै लगेको चीनमा एकै दिन कसरी एक हजार दुई सय ९० को मृत्यु हुन पुग्यो रु
चिनियाँ अधिकारीहरूका अनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेहरूको संख्या जे–जति सार्वजनिक भएको थियो, त्यो संक्रमणका कारण अस्पतालमा भएका मृतकहरूको संख्या थियो । र, पछिल्लो थप भएको संख्या अस्पतालबाहिर मृत्यु भएकाहरूको हो । अस्पतालबाहिर विभिन्न मितिमा भएका मृत्युहरूको संख्या एकैपटक जोडेर सार्वजनिक गर्दा एकैदिन मृत्यु भएकाहरूको संख्या ह्वात्तै बढेको देखिन पुगेको हो ।
विभिन्न स्रोत र अस्पतालबाहिर मृत्यु भएका संक्रमितको तथ्यांक पुनः अध्ययनपछि यो तथ्यांक सार्वजनिक गरिएको वुहानका स्वास्थ्य अधिकारीहरूले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । उनीहरूले भनेका छन्, ‘आफ्नै घरमा मृत्यु भएकाहरूको मृत्यु गणना पहिले गरिएको थिएन । त्यही संख्या अहिले हामीले थपेका हौँ ।’
तर, कतिपयले भने संक्रमण मृत्युदर ढाकछोप गरेको आरोप लगाएका छन् । चीनमाथि यस्तो आरोप खासगरी पश्चिमा जगतबाट लाग्दै आएको छ । तर, चिनियाँ अधिकारीहरूले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
‘हामीले महामारीको विस्तृत समीक्षा गरेका छौँ, त्यसक्रममा घरैमा मृत्यु भएका मृतकको नयाँ संख्या थपिन पुगेको हो,’ चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फिंगले भनेका छन्, ‘चीनले महामारीबारेको हरेक तथ्यांक स्पष्ट रूपमा सार्वजनिक गर्दै आएको छ । लुकाउनुपर्ने कुरा केही पनि छैन ।’
वर्ल्डोमिटरका अनुसार चीनमा हालसम्म ८२ हजार ६ सय ९२ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये ७७ हजार नौ सय ४४ जना निको भएर घर फर्केका छन् भने ८९ जनाको अवस्था अहिले पनि गम्भीर छ । कोरोना संक्रमणबाट पीडितहरूको संख्याको आधारमा चीन अहिले विश्वको सातौँ नम्बरमा छ ।

६ वैशाख २०७७, शनिवार ००:०६ बजे प्रकाशित





