मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन निर्देशन

२५ माघ, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारलाई दिर्नेशन दिएको छ ।
शुक्रबार समिति सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च शिक्षा सम्बन्धी नयाँ विधेयक ल्याउँदा मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था राख्न निर्देश गरेको हो ।
शिक्षा मन्त्रालयले उच्च शिक्षा सम्बन्धी नयाँ विधेयक ल्याउन लागेको जानकारीका आधारमा समितिले निर्देश गरेको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन ।
‘संविधानले ‘मातृभाषामा पनि उच्च शिक्षा अध्ययन गर्न पाउने कुरालाई ज्ञारेण्टी गरेको छ । सरकारले उच्च शिक्षा सम्बन्धी विधेयक ल्याउन लागेको भन्ने जानकारीका आधारमा समितिले संवैधानिक व्यवस्थालाई सम्झाएको हो’ घर्तीले अनलाइनखबरसँग भनिन ।
शिक्षा सम्बन्धी तीन विधेयक एकसाथ आउँदै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलका अनुसार शिक्षा सम्बन्धी तीन वटा विधेयक एकसाथ आउँदैछ ।
शिक्षा नीतिअनुसार विद्यालय, उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाका छुट्टाछुट्टै विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । विद्यालय शिक्षा कक्षा १ देखि १२, साधारण धारतर्फको उच्च शिक्षा र प्राविधिक धारतर्फको शिक्षालाई समेटेर छुट्टाछुट्टै ऐन जारी गर्ने गरी विधेयक ल्याउन लागिएको हो ।
‘नयाँ शिक्षा नीतिअनुरूप विद्यालय, उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाका छुट्टाछुट्टै विधेयक ल्याउने आन्तरिक तयारी छ,’ मन्त्री पोखरेलले भनेका छन् ।
२५ माघ २०७६, शनिवार १६:०९ बजे प्रकाशित