शुल्क वृद्धि १५ दिनभित्रमा फिर्ता हुने भएपछि आन्दोलन स्थगित
जनादेश खबर काठमाण्डाैं
वैशाख १६, २०७४
काठमाडौँ, वैशाख १६। निजी विद्यालयको शुल्क वृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
सिंहदरबारमा शिक्षामन्त्री धनीराम पौडेल र आन्दोलनरत विद्यार्थीबीच चार बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियु (क्रान्तिकारी)का सचिवालय सदस्य डिवी साउदले जानकारी गराउनुभयो ।
उहाँका अनुसार शिक्षा मन्त्रालयले शिक्षा नियमावली र निर्देशिका विपरीत विद्यालयले लिइएको शुल्क १५ दिनभित्र फिर्ता गराउने, शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कडाइका साथ कार्यान्वयन गराउने तथा शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगर्ने विद्यालयको दर्ता खारेजी गर्ने सहमति भएको छ ।
यसैगरी मन्त्रालयलाई सुझाव दिनका लागि विद्यार्थी सङ्गठनसमेतको संलग्नतामा मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक संवाद समिति समेत गठन गर्ने सहमति भएको छ ।
साउदले शुल्क वृद्धिको विरोधमा लगाइएका ताला शनिबार खोलिने जानकारी गराउनुभयो । छलफलमा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङलगायतको उपस्थिति रहेको थियो ।
मङ्गलबारदेखि निजी विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थी सङ्गठन आन्दोलित भएका थिए । उनीहरुले शुल्क फिर्ताको माग गर्दै आज शिक्षा विभाग, जिल्ला शिक्षा अधिकार तालाबन्दी गरेका थिए । रासस