निर्वाचन आचारसंहिता जारी
काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले आज (बुधबार) देखि चुनावी आचारसंहिता लागू गरेको छ । स्थानीय तहको निर्वाचन आचारसंहिता जारी गरेको आयोगले यसलाई पालना गर्न सरकारलाई निर्देशन पनि दिएको छ । १९ बुँदे स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन आयोगले आज उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर त्यसबारेमा जानकारी दिएको हो । आयोगले आचारसंहितालाई पूर्णरुपमा लागू गर्न निर्देशन पनि दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिए । उनले निर्वाचनका क्रममा अज्ञानता माफी नहुने पनि स्पष्ट पारे । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताको सुरक्षाका लागि पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यसैबीच आयोगले निर्वाचनमा हेलिकोप्टर प्रयोगमा पूर्ण बन्देज लगाएको छ । साथै मन्त्रीहरुलाई कामका लागि जिल्ला सदरमुकामसम्म मात्र जान निर्देशन पनि दिएको छ । यसैबीच निर्वाचन आयोगले स्थानीय तह पुनर्संरचना प्रतिवेदन तत्काल दिन सरकारलाई भनेको छ । धेरै ढिला गरे वैशाख ३१ मा गर्ने भनिएको स्थानीय तहको चुनाव नै प्रभावित हुने प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए । प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढाउन स्थानीय विकासमन्त्री हितराज पाण्डेको नेतृत्वमा बनेको कार्यदलको म्याद सरकारले ३ दिनका लागि थप गरेको छ । निर्वाचन आयोगले भने प्रतिवेदन आउन धेरै ढिलो भएको भन्दै अब पर्खन नसकिने बताएको छ ।
१८ फागुन २०७३, बुधवार १२:२३ बजे प्रकाशित













