कैलालीमा लाटोकोसेरोको शिकार बढ्दै
कैलाली, १७ फागुन । कैलालीमा दुर्लभ मानिने गोठे लाटोकोसेरोको चोरी शिकारी बढ्दै गएको छ । केहि अघि मात्रै धनगढीको तारानरगर क्षेत्रमा एउटा लाटोकोसेरो घाइते फेला परेको थियो । किसानको साथी मानिने लाटोकोसेरो तथा हुचिल चरा यहाँका शिकारीको निशानामा परेको संरक्षणकर्मीले बताएका छन् । मारेर मासु खाने वा तस्करी गर्ने उद्देश्यले यी चरामाथि शिकारी वा तस्करीमा संलग्नको निरन्तर प्रहार भइरहेको उनीहरुको दावी छ । खेतीपातीलाई हानी पुर्याउने मुसा, किरा, फट्याङ्ग्रा नियन्त्रणमा यी चरा प्रजातिको भूमिका रहेको र यी चराले किरा, फट्याङ्ग्रा, सर्प, भ्यागुतो खाएर पर्यावरणलाई सन्तुलन राख्न मद्दत गर्ने गर्दछन् । लाटोकोसेरो तथा हुचिलले किसानलाई अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आए पनि यसको महत्वबारे थाहा नपाउँदा मान्छेले चरा मार्ने गरेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा सक्रिय संरक्षणकर्मी राजु आचार्यले बताए । कैलालीमा दुर्लभ प्रजाति अन्तर्गतका गोठे लाटोकोसेरो, माहा हुचिल र भासोलुक पाईने गरेका नेपाल पंक्षी संरक्षण सङ्घका सुदूरपश्चिम फिल्ड संयोजक हिरुलाल डङ्गौराले जानकारी दिए । लाटोकोसेरो संरक्षणमा सक्रिय संक्षणकर्मीहरुका अनुसार नेपालमा एकै वर्षमा यी प्रजातिका दुई हजार चरा शिकारीबाट मारिने गरेका छन् । विश्वमा २२५ प्रजातिका लाटोकोसेराहरु पाईने गरे पनि नेपालमा हालसम्म २२ प्रजाति पाईने गरेको र त्यसमध्ये नौ प्रजाति यहाँको हकमा दुर्लभ रहेको जनाइएको छ ।
कैलाली बाट पत्रकार लोकेश धामीको सहयोगमा
१७ फागुन २०७३, मंगलवार १२:२९ बजे प्रकाशित