पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौँ, ११ फागुन । निर्वाचन आयोगले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आवश्यक पर्ने भन्दै तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । बुधबार सरकारलाई पत्र पठाउँदै आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग सरकारबाट प्राप्त हुनेमा विश्वास व्यक्त गरेको छ ।
निर्वाचनको मिति घोषणा भएपछि सबै स्थानमा सञ्चालन गरिएको मतदाता नाम दर्ता कार्य स्थगित गर्ने र बाहिरी जिल्लाको दर्ता कार्य समेत स्थगित गर्ने निर्णय पनि आयोगले गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको मिति फागुन ९ लाई मतदाता नामावली ऐन, २०७३ को दफा ६(ख) बमोजिम मतदाताको उमेर १८ (अठार) वर्ष पूरा भएको मिति मानेर अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय आयोगले गरेको छ । अस्तिसम्म दर्ता, संकलन भएका मतदाता नामावलीलाई सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, नाम हटाउने प्रक्रिया पूरा गर्न जिल्ला सदरमुकाममा नै यही फागुन १७ देखि २१ सम्ममा अद्यावधिक गरी अन्तिम मतदाता नामावलीमा समावेश गर्ने समेत निर्णय आयोगको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दल सम्बन्धी विधेयक, २०७३ को मसौदालाई ऐनको रूपमा पारित गराउन आवश्यक व्यवस्था गर्नका लागि गृह मन्त्रालयमा लेखी पठाइएको बताए ।
११ फागुन २०७३, बुधवार १३:४७ बजे प्रकाशित