अधिकार प्राप्त नहुँदासम्म आन्दोलन
पोखरा । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिचान र अधिकार प्राप्ति नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन । सङ्घीय गठबन्धन र तमुवान संयुक्त सङ्घर्ष समितिको व्यवस्थापनमा आयोजित जनप्रदर्शन एवम् विरोधसभामा सङ्घीय गठबन्धनका संयोजक समेत रहेका यादवले सत्ता स्वार्थको हतारका कारण ‘फास्ट ट्र्याक’को नाममा उत्पीडित वर्ग र समुदायका पहिचान र अधिकारलाई संविधानमा नसमेटिएको बताए ।
सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले सरकारले जनताका आवाज नसुन्ने हो भने आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताए ।राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सङ्घीय गठबन्धनलाई फुटाउन षडयन्त्र भइरहेको बताउँदै विविधतायुक्त राज्यमा सबैको समान प्रतिनिधित्व आवश्यक हुने बताए । सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले संवैधानिक रुपमा पहिचान नसमेटिएसम्म आन्दोलन जारी रहने बताए ।
१८ जेठ २०७३, मंगलवार ०१:३० बजे प्रकाशित