आज धुम्रपान विरुद्धको दिवस
काठमाण्डौँ । सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गर्दै विश्व धुम्रपान रहित दिवस मनाईदैछ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर धुम्रपान रहित दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । धुम्रपान रहित दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानीबारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ । स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले सूर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालका अन्तक्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन् । यस दिवसका अवसरमा सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्न नीतिगत वकालतका कार्यक्रम समेत आयोजना गरिन्छन् । नीतिगत वकालतका माध्यमबाट सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्नु नै यो दिवस मनाउनुको मुख्य उदेश्य हो ।
विश्व स्वास्थ्य संगठनले यस वर्षको दिवसलाई “World No Tobacco Day 2016: Get ready for plain packaging” भन्ने नाराका साथ मनाउने घोषणा गरेको छ । विश्वव्यापी रुपमा सूर्तीजन्य पदार्थको सेवनबाट मानव स्वास्थ्यमा जोखिम बढेपछि सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो । उत्पादित सुर्तिजन्य वस्तुको बट्टा तथा पोकाहरुमा सुर्तिजन्य वस्तुको सेवनबाट हुने हानी नोक्सानीबारे जानकारी दिने चित्र तथा सन्देशहरु उल्लेख गर्ने कार्यलाई बढवा दिंदै यस वर्ष विश्व धुम्रपान रहित दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य उद्योगले सुर्तिजन्य वस्तुको बजार निर्माणका लागि हानीकारक रणनीति उपयोग गरेकोले त्यसैबारे मानिसहरुलाई शिक्षित गर्ने उद्धेश्य राखेको छ । संगठनले सूर्तीजन्य वस्तुबाट हुने जोखिम नियन्त्रणका लागि सूर्तीजन्य उद्योगको गलत रणनीतिका विरुद्ध लड्न विश्वभर सबै प्रयासहरुका साथ जुट्नुपर्ने तर्फ औंल्याएको छ । सूर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष विश्वमा ६० लाख मानिसको ज्यान जाने गरेको छ ।
१८ जेठ २०७३, मंगलवार ०१:४७ बजे प्रकाशित