अनुदान पाउने ११ जिल्लाका घरधनीको सूची सार्वजनिक
काठमाण्डौँ । भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउन योग्य घरधनीको सूची सार्वजनिक भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य ३ लाख ९६१ घरधनीको सूची सार्वजनिक गरेकोे छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अनुदान पाउनयोग्य घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको जानकारी दिए । अनुदान पाउनयोग्य घरधनीको सङ्ख्या ओखलढुङ्गा १५ हजार पाँच, सिन्धुली २१ हजार ११४, रामेछाप ३० हजार ५१९, दोलखा ४९ हजार ७५१, सिन्धुपाल्चोक ३५ हजार ३०८, काभे्रपलाञ्चोक ४० हजार २६४, नुवाकोट ३८ हजार २३५, रसुवा पाँच हजार ४१७, धादिङ २३ हजार ४४०, मकवानपुर सात हजार ४१२ र गोरखामा ३४ हजार ४९६ रहेका छन । तथ्याङ्क सङ्कलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता भएपछि सरकारले ३ किस्तामा क्रमशः ५० हजार, ८० हजार र ७० हजार गरी दुई लाख भूकम्पपीडितलाई रकम वितरण गरिनेछ । गएको बर्ष वैशाख १२ गते गएको विनाशकारी भुकमप र तयसपछिका निरन्तरका परकम्पले आठ लाख घर पूर्ण रुपमा क्षति भएका छन ।
१३ वैशाख २०७३, सोमवार १०:०४ बजे प्रकाशित