भुकम्प पिडितहरुको बाँच्न पाउने अधिकार संकटमा पर्यो
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भुकम्प पछिको पुनःनिर्माण प्रभावकारी बनाउन सम्वद्ध निकायको ध्यानाकर्षण गराएको छ । आयोगले भूकम्प गएको एक वर्ष पुगेको अवसरमा आज ‘भूकम्प र मानवअधिकार, भूकम्प, २०७२ मा मानवअधिकार अवस्था अनुगमन प्रतिवेदन’ सार्वजनिक गरेर गोरखा भूकम्प गएको एक वर्ष पूरा हुँदासमेत भूकम्पपीडितले मानवीय सेवा प्राप्त गर्न नसकेकामा सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले मानवीय अवस्थालाई ख्याल गर्दै तत्काल पुनःनिर्माण र राहत वितरणको प्रक्रियालाई अगाडि बढाउन भनेको छ । भूकम्प प्रभावित १४ जिल्लाको स्थलगत अध्ययन प्रतिवेदनका आधारमा एकीकृत रुपमा प्रतिवेदन तयार पारिएको जानकारी दिँदै आयोगले पीडितको जनजीवन एक वर्षपछि पनि उस्तै दुरुहतापूर्ण रहेको बताएको छ । पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण नागरिकको अधिकार नै सङ्कटमा परेको भन्दै आम नागरिकमा समेत असन्तुष्टि बढ्दै गएकोले आयोगले पुनःनिर्माणको कामलाई गम्भीरतापूर्वक लिँदै तीव्रता दिनसमेत आग्रह गरेको छ । आयोगमा आज आयोजित एक कार्यक्रममा भूकम्प प्रभावितको मानवअधिकारको अवस्था विषयक प्रतिवेदन सार्वजनिक गर्नुहुँदै आयोगका अध्यक्ष अनुपराज शर्माले भूकम्प प्रभावित क्षेत्रका जनताको अवस्था दयनीय रहेको बताए ।
१२ वैशाख २०७३, आइतवार १५:०८ बजे प्रकाशित