नेपाल मधुमेहको उच्च जोखीममा
काठमाडा। नेपाल मधुमेहको उच्च जोखीममा रहेको बिभिन्न अध्ययनले देखाएका छन । विश्व स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले राजधानीमा गरेको अन्र्तक्रिया कार्यक्रममा पनि यस्तै तथ्य सार्वजनिक गरियो । कार्यक्रममा यस क्षेत्र संग संवन्धित सरोकारवालाहरुले नेपालमा मधुमेहका कारण ४० प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको भन्दै सचेत रहनुपर्नेमा जोड दिए । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसार अस्पताल पुग्ने ८४ प्रतिशत सेवाग्राहीमा मधुमेह सहितका नसर्ने रोगको समस्या देखिन्छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा आउँदो १४ बर्ष अर्थात सन् २०३० सम्ममा मधुमेहका रोगीको संख्या १३ लाख २८ हजार पुग्ने अनुमान छ । सार्वजनिक गरिएका विश्व स्वास्थय संगठन र स्वास्थ्य सेवा विभागका यिनै तथ्याङ्कले नेपालमा मधुमेहको जोखिम उच्च रहेको उुष्टी गर्छ । कार्यक्रममा सहभागी यस क्षेत्र संगसंवन्धित विज्ञहरुले मधुमेह रोग नियन्त्रणका लागि सरकारले पर्याप्त कदम नचालेको भन्दै आपत्ती जनाए । जवाफमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक अच्युत लामिछानेले गएको आर्थिक बर्षमा नसर्ने रोगका लागि विनियोजित बजेटमध्ये २८ प्रतिशत मात्र खर्च भएको भएको बताए । विज्ञहरुले भने रकम नै खर्च नहुनुका कारण खोजी गर्नुपर्ने र सरकारले यसलाई गम्भिरतापुर्वक लिन नसकेको उदारणका रुपमा लिइएको चित्रित गरे ।
कार्यक्रममा आफ्नो ठकुमेन्टी प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मधुमेह रोग विशेषज्ञ डाक्टर ज्योति भट्टराईले मधुमेह रोकथामका लागि प्रयाप्त जनचेतना फैलाउनुपर्नेमा जोड दिइन । मधुमेहका रोगीहरु बढिरहनुमा धुमपान र मद्यपान नै मुख्य कारक रहेको उनको ठम्याई छ । खाद्य बस्तुहरुमा मिसाइने बिषादिले समेत काम गरिरहेको उनको तर्क छ । वर्षमा एक पटक रगत जाँच गराउने, गुलियो, पिरो, चिल्लो भएका खानेकुरा सेवन नगरे मात्रै पनि मधुमेह रोगबाट बच्न सकिने उनको सुझाव छ । कार्यक्रममा सहभागी विश्व स्वास्थ्य संगठनका डाक्टर जोशले नियमित हेरचाहमा ध्यान दिन सबैलाई आग्रह गरे । भट्टराईका अनुसार पनि दिनमा कम्तिमा आधा घण्टा ब्यायाम गर्नु आवश्यक छ ।
२४ चैत २०७२, बुधवार १६:०३ बजे प्रकाशित