८३ जना सांसदको निवेदन दर्ता गरेको भए राजनीतिक दुर्घटना हुन्थ्यो – डा. लालबाबु यादव

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिशअनुसार काम गरिरहेको र संविधानको दायराभित्रै रहेर काम गरेको दावी गरे । उनले भने,‘उहाँले संविधानअनुसार काम गर्नुभएको छ ।

राष्ट्रपति महोदयले सरकारको सिफारिश अनुसार काम गर्ने हो । त्यो काम उहाँबाट भैरहेको छ । उहाँ संविधानको संरक्षक हुनुहुन्छ ।’

उनले राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको बताए । उनले भने,‘आफू आफूमा झगडा गर्ने, आँफै भेट्न जाने । नेपाली कांग्रेसका नेताहरुपनि जानुभाछ । रामचन्द्रजी जानुभाछ । पशुपतिजी जानुभाछ । उहाँहरु भेट्न जाँदा चाहीँ राजनीतिक नहुने ’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षीबाट विरोध नभई आफ्नै दलबाट विरोध भएको पनि गुनासो पोखे ।

उनले भने,‘नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेकै हो । सरकारलाई सबभन्दा बढि आफ्नै पार्टीबाट डिस्टर्ब भएको छ । अहिले जतिपनि केपी ओलीको विरोध भैरहेको छ, यो सब जनताको लागि हो कि संविधानको लागि हो कि रु समृद्धिको लागि हो कि उखु किसानको लागि हो कि वा के को लागि हो हेर्नुहोस्, राजनीति त नेपालमा व्यक्तिगत स्वार्थमा भयो । यसो भयो भने न मुलुकमा सुशासन हुन्छ । न समृद्धि हुन्छ ।’

उनले अहिलेको संविधान लामो समयको संघर्ष र बलिदानीबाट आएको सुनाउँदै यसको रक्षाको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकलाई सकारात्मक दिशातर्फ लैजानको लागि सकारात्मक पहल हुनुपर्नेपनि सुझाए । र, विपी र पुष्पलालको नीति आत्मसात गर्नपनि उनले सुझाएका छन् ।

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै ८३ जना सांसदहरुको हस्ताक्षरसहित जाँदापनि किन समावेदन दर्ता भएन भनेर सोधेको प्रश्नमा उनले भने–‘उहाँहरु एकैचोटी जानुभयो । तर, उहाँहरु शितलनिवासमा हुँदा फोनमा आउन थाल्यो कि सहमति भैसकेको छ, अब विशेष अधिवेशन बोलाउन पर्दैन भनेर ।

आफ्नो पार्टीको सरकारलाई आफ्नै पार्टीका सांसदले संसद अधिवेशन बोलाउनुपर्ने यो अनौठो भयो । उहाँहरुको निवेदन दर्ता भएको भए मुुलुकमा राजनीतिक संकट उत्पन्न हुन्थ्यो । बरु, नेपाली कांग्रेसले धैर्यता देखाइरहेको छ ।’

५ पुस २०७७, आइतवार ०८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु