सहयोग नपाएको सत्यनिरुपण आयोगको गुनासो

काठमाडौँ, २६ मङ्सिर । सत्य aनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरूले अपेक्षीत सहयोगको अभावमा सोचेअनुसारको काम गर्न नसकिरहेको गुनासो गर्नुभएको छ ।

व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग आज भएको छलफलमा आयोगका पदाधिकारीले सरकार र दलहरूबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभएको हो । उहाँहरूले सरकार र दलहरूले आयोग गठन गरेपछि आफ्नो तर्फबाट जिम्मेवारी पूरा भएको जस्तो व्यवहार गरेको अनुभव सुनाउनुभयो ।

आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले आफूहरूले समन्वय गर्न नसकेको पनि हुन सक्छ भन्दै सरकार र दलहरूको तर्फबाट पनि बेवास्तामा परेको बताउनुभयो । उहाँले जुन प्राथमिकतामा आयोग पर्नुपर्ने हो त्यस्तो नभएको गुनासो गर्दै पर्याप्त स्रोत र साधन नहुँदा काम गर्न चाहँदा चाहँदै पनि सुस्ताउनुपरेको स्पष्ट पार्नुभयो ।

छलफल कार्यक्रममा आयोगका अन्य सदस्यहरूले पनि आयोगको महत्व र भूमिकालाई सम्बन्धित पक्षले बुझ्न नखोजेको जस्तो अनुभव आफूहरूलाई भएको बताउनुभएको थियो । उहाँहरूले आयोग असफल भयो भने अन्तर्राष्ट्रिय समुदायमा पनि नकारात्मक सन्देश जानेतर्फ सजग हुन दलहरूलाई आग्रह गर्नुभएको थियो ।

छलफलमा सहभागी दलका प्रतिनिधिहरूले भने आयोगलाई दृढताका साथ अगाडि बढाउनुपर्ने र आयोगको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छलफलमा सहभागी काँग्रेसका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

“भविष्यमा द्वन्द्व नदोहोरिने गरी मानवअधिकार हनन् भएको कुरालाई पहिचान गर्नुपर्छ, त्यस्तालाई के गर्नु पर्दछ, पीडितलाई न्याय दिनुपर्दछ, दण्डहीनता नमौलाओस् भन्ने नै धेरैको भनाइ थियो,” उहाँले भन्नुभयो ।

छलफलमा झण्डै डेढदर्जन पार्टीका प्रतिनिधि सहभागी भएको काँग्रेस नेता शाहीले जानकारी दिनुभयो । आयोगले चाँडै दलका शीर्ष नेताहरूसँग छलफल गर्ने योजना बनाएको पनि कार्यक्रममा जानकारी दिइएको उहाँले बताउनुभयो ।

२६ मंसिर २०७२, शनिवार १८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु