पत्रकारमाथिको आक्रमण रोकिएको छैन् : विष्ट
परासी, २६ मङ्सिर । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले तराई मधेसमा जारी आन्दोलनको क्रममा पत्रकारहरु जोखिमपूर्ण पत्रकारिता गर्न बाध्य रहेको बताएका छन् ।
उहाँले आन्दोलनको नाममा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण गर्ने कुटपिट गर्नेलगायतका प्रेसमाथिको हस्तक्षेपका घटना जारी रहेको भन्दै यसप्रति सरकार गम्भीर बन्नुपर्ने जिकिर गरे ।
नेपाल पत्रकार महासङ्घले आज नवलपरासीमा आयोजना गरी तराई मधेस मिडिया सम्मेलनमा बोल्दै अध्यक्ष विष्टले आन्दोलनका क्रममा सञ्चारमाध्यम र पत्रकारहरु लक्षित आक्रमण कायमै रहेको बताए ।
सम्मेलनमा तराई क्षेत्रमा जारी आन्दोलन र त्यसले सञ्चार क्षेत्रमा पारेको असर बारेमा तराईका २२ जिल्लाका पत्रकारले आ–आफ्नो जिल्लाको अवस्था र समस्याका बारेमा धारणा राखेका छन् ।
सम्मेलन र केन्द्रीय कार्यसमितिको बैठकले पत्रकारको सुरक्षा र आगामी कदमका बारेमा महासङ्घबाट ठोस प्रस्तावसहित नवलपरासी घोषणापत्र जारी गरी आइतबार सकिनेछ । सम्मेलनमा देशभरिका करिब १०० बढी पत्रकारको सहभागिता रहेको छ ।
२६ मंसिर २०७२, शनिवार १६:१६ बजे प्रकाशित