संविधान संस्थागत गर्न गाउँ गाउँमा : खनाल

काठमाडौँ, २६ मङ्सिर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधानलाई संस्थागत गर्न गाउँ टोलस्तरसम्म लोकतन्त्र स्थापित गरिनुपर्ने बताएका छन् ।

नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलनको राजधानीमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

“सामन्तवादको अन्त्यका लागि नयाँ संविधानले योगदान गरेको छ, अब मुलुक पुँजीवादमा प्रवेश गरेको छ, केही प्रतिक्रियावादी र विखन्डनवादीले यो संविधान रोक्न खोजेका थिए, कतिपय अन्तर्राष्ट्रिय शक्तिले पनि नचाहेको संविधान आएकाले अघोषित नाकाबन्दीको सामना गर्नुपरेको छ”–उनले भने ।

नाकाबन्दी लगाएपछि भारत विश्वव्यापीरुपमा बदनाम भएको, भारतमै पनि राज्यसभा र लोकसभामा यसका विरुद्ध आवाज उठेपछि केही दिनमै हट्ने सङ्केत मिलेको उनले बताए ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले संविधानलाई जस्ताको त्यस्तै जनताका बीचमा लगी जागरण फैलाउने अभियानमा सरकार लागेको बताए ।

“मानवीय सङ्कट र नाकाबन्दी अन्त्य गर्न सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको छ, अहिले औपचारिक एवम् अनौपचारिक रुपमा वार्ता भइरहेको छ, सकारात्मक सङ्केत आएकाले छिट्टै समस्या समाधान हुने विश्वासमा छौँ, यो समस्या समाधानपछि आर्थिक समृद्धि र सुशासनको दिशामा लाग्नुपर्छ”–उनले भने ।

२६ मंसिर २०७२, शनिवार १६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु