काँग्रेसको संशोधन प्रस्तावले मोर्चाका माग पुरा गर्छ : पौडेल

ramchandra_paudelपोखरा, मङ्सिर २४ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव नै मधेसी मोर्चाको माग पूरा गर्ने मूलकडी भएको दाबी गरेका छन् ।

नेपाली काँग्रेस कास्कीले ‘कस्तो बन्यो संविधान, एकताको अभियान’ मूलनाराका साथ बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधन प्रस्तावमा केही परिमार्जन गरेर अघि बढाएमा सहमति हुने सङ्केत मधेसी मोर्चाबाट आएकाले त्यसलाई संसद्बाट छिटो पास गराई मोर्चाको आन्दोलन र भारतको नाकाबन्दी अन्त्य गर्नुपर्ने बताए ।
“नयाँ संविधान लोकतन्त्र र समाजवादलाई चरितार्थ गर्नसक्ने सन्तुलित र समावेशी खालको छ”, उनले भने –“संविधानले मधेसी, उत्पीडित, दलित र महिलालाई अधिकार सम्पन्न बनाएको सन्देश जनता माझ प्रचार गर्न नसक्दा असन्तुष्टिका आवाज निस्केका हुन् ।”

उपसभापति पौडेलले नेपालमा अरु कसैले मान्छे मार्दा पनि चर्चा नहुने तर नेपाली काँग्रेस आँ गर्दा पनि हल्लाखल्ला हुने विचित्रको राजनीति हुने गरेको टिप्पणी गरेका थिए । पार्टीको आसन्न महाधिवेशनमा समयसापेक्ष चुनौतीलाई आत्मसात् गर्ने खालको नेतृत्वलाई निर्वाचित गर्नुपर्नेमा जोड दिँदै उनले कार्यकर्ता तहबाट नेतृत्वको मूल्याङ्कन गर्ने अवस्था आएको बताए ।

नेपाली काँग्रेस र नेकपा (एमाले) दुई समदूरीका पार्टी भएको चर्चा गर्दै उनले लोकतन्त्रमा प्रतिस्पर्धी पार्टीबीच एकापसमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले नेपालको नयाँ संविधान सामावेशीतालगायतका दृष्टिबाट उत्कृष्ट भएको जिकिर गरे ।

२४ मंसिर २०७२, बिहीवार ०९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु