व्यापारीका पछि लागेर आपूर्तिमन्त्री रातारात हङकङ पुगे

काठमाडौँ, कात्तिक २७ । भारतको नाकाबन्दीले तिहारमा चरम संकट भइरहेका बेला चिनबाट पर्याप्त इन्धन ल्याउन छाडी वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन रातारात हङकङ पुगेका छन् ।

आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई समेत जानकारी नदिई झण्डै मन्त्री पुन गएराती हङकङ पुगेका हुन् । मन्त्री आफु निकट सहयोगी र ब्यापारीका साथ हङकङ गएका जनाइएको छ।

नेपाल सरकारले नै १५ नोभेम्बरदेखि २० नोभेम्बरको बीचमा नेपाल आउन चिनियाँ टोलीलाई निम्तो दिएकोमा सो टोली नेपाल आउँदैछ ।

मन्त्री आफै हङकङ उडेपछि आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका कर्मचारीहरु आश्चर्यमा परेका छन् । तर, मन्त्रीका सहयोगीहरु भने चीनबाट इन्धन ल्याउने बिषयमा मन्त्रालय र आयल निगमका अधिकारीहरु नै असहयोगी देखिएपछि आफै अग्रसरता लिएर वार्ता गर्न गएको दावी गरेका छन् ।

आपूर्तिमन्त्री पुनलाई व्यापारी नरेन्द्र उलकले विहीबार राति हङकङ लिएर गएका बताइएको छ। उलक प्रचण्डसँग राम्रो सम्वन्ध भएकामध्येका एक व्यापारी हुन् । उनलाई धेरैले ‘दलाल व्यापारी’को संज्ञा दिने गरेका छन् ।
तर मन्त्रीको दावी भने कर्मचारी संयन्त्रले सहयोग नगरेका कारण आफै तात्नुपरेको छ ।

२७ कात्तिक २०७२, शुक्रवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु