आपूर्ति सहज बनाउन नयाँ प्रयोग – उपप्रम मैनाली

काठमाडौँ, कातिक २१। उपप्रधानमन्त्री सिपी मैनालीले भारतसँगको नाका खुलाउने प्रयत्नलाई जारी राखेर नेपालले अब चीनसँगको नाका खोल्ने कामलाई बढाउँदै लैजाने दाबी गरेका छन् ।

आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने “भारतद्वार मात्र नभएर अब नेपालले बहुद्वार नीति अवलम्बन गर्नेछ, भारतमा मात्र सीमित नरहने गरी पारवाहनमा विविधता अपनाइने छ ।”

नेपालमाथि लगाइएको नाकाबन्दीलाई विगतमा राजनीतिक दलले राजालाई मात्र लगाइएको हो भन्ने मनोगत र एकपाखे बुझाइ भएकामा यस पटकको घटनाले सबैलाई पाठ सिकाएको मैनालीले बताए ।

तराईलाई जसरी भए पनि हिमाल र पहाडबाट अलग तुल्याउने तथा सामाजिक सद्भावमा खलल पु¥याउने कार्यमा भारत लागेको आरोप लगाउँदै उपप्रधानमन्त्री मैनालीले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक र समावेशी संविधानले छिमेकीलाई कहीँकतै नोक्सानी नपारेको उल्लेख गरे ।

उनले भने, “भारतको अघोषित नाकाबन्दीबाट पाठ सिकेर अब नेपालले छिमेकीसँगको सहयोग र सम्बन्धलाई पुनःपरिभाषित गर्नुपर्ने देखिएको छ ।”

आफूले चाहेको जस्तो संविधान बनेन भनेर भारतीय पक्षबाट गरिएको नाकाबन्दीलाई राजनीतिक हस्तक्षेपको संज्ञा दिँदै मैनालीले विनाकारण, गैरकानुनी र अमानवीय रुपले गरिएको यस्तो व्यवहार अन्यायपूर्ण र अनुचित रहेको धारणा व्यक्त गरे ।

संविधान जारीपछि सिर्जित चुनौतीको सामना गर्दै मुलुकलाई आत्मनिरर्भर तुल्याउने तर्फ सरकारको भूमिका केन्द्रित रहेको बताउँदै उहाँले भन्नुभयो, “ देशको इज्जत कमजोर हुने गरी घुँडा टेक्दैनो, समस्या हटाउने र घटाउनेतर्फ सरकारबाट प्रयत्न भइरहेको छ ।”

२१ कात्तिक २०७२, शनिवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु