उत्तरी नाकाहरुको मर्मत र स्तरोन्नती गर :संसदिय समिति
काठमाडौँ, कात्तिक १२। व्यवस्थापिका–संसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आपुर्ति ब्यवस्थालाई सहज बनाउन उत्तरी नाकाहरुको मर्मत र स्तरोन्नती गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरवारमा बसेको समिति बैठकले उत्तरी नाकाहरुको मर्मत र स्तरोन्नती गरी आपुर्ति ब्यवस्थालाई सहज बनाउनुपर्ने ठहर गरेको हो । बैठकले अविलम्व नाकाको स्तरोन्नति गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई तत्कालका लागी सोलार वा अन्य इन्धनका विकल्पहरु मार्फत इन्धन आपुर्ति गर्न र दिर्घकालका लागि मुलुक भित्रका खानीहरुको उत्खनन् र विद्युतको विकास गर्न तथा भण्डारण क्षमता वढाउन अन्तर मन्त्रालय समन्वयका साथ कार्य गर्न भनेको छ ।
सीमित मात्रामा आपुर्ति भएको पेट्रोलियम पदार्थको न्यायोचित वितरण गर्दै ठुला एवं सार्वजनिक सवारीलाई प्राथमिकता दिन र सार्वजनिक राष्ट्रिय जिम्मेवारी भएका व्यक्तित्व तथा निकायहरुलाई समेत न्यायोचित वितरणको प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिइएको छ ।
बैठकले कृषि तथा दुग्ध जन्य पदार्थ अोसार पसार गर्ने सवारीलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।
१२ कात्तिक २०७२, बिहीवार १५:३४ बजे प्रकाशित