लिबियामा राष्ट्रिय एकताको सरकारको प्रस्ताव अस्वीकार
एजेन्सी, कार्तिक ५ । लिबियाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त संसदले हालैमात्र संयुक्त राष्ट्रङ्घद्वारा प्रस्तुत नयाँ राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव अस्वीकार गरेको छ ।
उक्त प्रस्तावबमोजिम लिबियाको सरकारले हालका लागि स्थान खालीगरी संयुक्त राष्ट्रसङ्घको पनि सहमति र रोहबरमा लिबियामा नयाँ सरकारको निर्माण गर्ने भनिएको थियो ।
तर बुधबारको लिबियाली संसदले सो प्रस्ताव अस्वीकार गरेको हो । सो समाचार लिबियाबाट प्राप्त समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले लिबियामा राष्ट्रिय एकताको सरकार निर्माण हुन लागेकोमा स्वागत गरेका थिए ।
उहाँले लिबियामा अहिलेको अवस्थामा राष्ट्रिय एकताको आवश्यकता रहेकोमा देश सोही अनुरूप अघि बढेको भन्दै लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनको उक्त कार्यको प्रशंसा पनि गरेका थिए ।
लिबियामा राष्ट्रिय सरकारका लागि भन्दै राष्ट्रपतीय परिषद् गठन गरिएको थियो र सोही परिषद्ले छिट्टै नै राष्ट्रिय सरकार गठन गर्नेगरी तयारी भइरहेको बताइएको थियो ।
महासचिव मुनले लिबियाली राजनीतिक दलका नेताहरूलाई देशमा राष्ट्रिय सरकार गठन गर्ने समय यही हो भन्दै यसका कारण अघि बढाउन सकिने अन्य विकासका कामलाई पनि प्राथमिकता दिनुपर्नेमा अझै पनि जोड दिएका छन् ।
५ कात्तिक २०७२, बिहीवार १९:४७ बजे प्रकाशित