यसबर्ष पनि समयमै पुस्तक पाउने सम्भावना कम
रामेछाप, १५ चैत । यसबर्ष पनि रामेछापका बिद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने संभावना काम भएको छ । जिल्लामा रहेका बिभिन्न पाठ्यपुस्तक बिक्रेताहरुले गएको बर्षको पुस्तक ढुवानी बापतको कमिसन रकम जनक शिक्षाले नदिएको भन्दै रकम नदिएसम्म पुस्तक नल्याउने बताएपछि बिद्यार्थिहरुले पुस्तक पाउने सम्भाबना कम देखिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापले कमिशन रकम नपाएसम्म कुनै पाठयपुस्तक जिल्लामा नल्याउने निर्णय गरेका हुन् । बैठकले शैक्षिक सत्र २०७१\७२ का लागि खरिद गरिएका सरकारी पाठ्यपुस्तकहरुको ढुवानी बापतको थप कमिशन तत्काल उपलब्ध गराउन माग पनि गरेको छ । महासंघले गरेको निर्णय बुझाउन जिल्ला शिक्षा कार्यालय पुगेका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघको टोलीलाई जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले बेलैमा पाठ्य पुस्तक जिल्लामा ल्याएर विद्यालयका वालवालिकाहरुलाई उपलब्ध गराउन अनुरोध गरेका छन । तर पुस्तक ब्यवसायिहरुले भने आफुहरुको समस्या समाधान नभएसम्म पाठ्यपुस्तक जिल्लामा नल्याउने अडान लिएका छन । –रामहरि श्रेष्ठ,रामेछाप
१५ चैत २०७२, सोमवार १०:२४ बजे प्रकाशित