दलित र विपन्न परिवारलाई भुसे चुलो !
कावासोती, २३ फागुन । सामुदायिक वन उपभोक्ता महासङ्घ ( फेकोफन) अन्तर्गतको समावेशी कार्यदलले दक्षिण भेगका पाँच गाविसका २५० दलित र विपन्न परिवारलाई भुसे चुलो प्रदान गरेको छ ।
एउटा गाविसका ५० घरपरिवारका दलित र विपन्नहरु छनोट गरिएको थियो । दक्षिणका सोमनी, जमुनिया, प्रतापपुर, जहदा र रामपुरखडौनाका विपन्न तथा दलित परिवारलाई भुसे चुलो प्रदान गरिएको समावेशी कार्यदलका सदस्य कृपालाल यादवले जानकारी दिनु भयो ।
उनीहरुलाई परासीमा कार्यक्रमको आयोजना गरी शनिबार भुसे चुलो प्रदान गरिएको हो ।
रु एक लाख ५० हजार बराबरको भुसे चुलो प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर पाण्डेले बताउनु भयो ।
भुसे चुलो पाएपछि गाउँलेहरु खुसी भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनको आम्दानीको केही भाग वन क्षेत्रभन्दा टाढा रहेका उपभोक्तालाई प्रदान गर्दै आएको छ ।
समुदायले संरक्षण गरेका वनबाट आय आर्जन हुने, काठ, दाउरासहित विपन्न परिवारलाई घर बनाइदिने, चुलो दिने काम महासङ्घले गर्दै आएको छ ।
रासस
२३ फागुन २०७२, आइतवार ०४:५० बजे प्रकाशित