उपराष्ट्रपतिद्वारा गणेशको मूर्ति अनावरण
काठमाडौँ, २३ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले पाशुपत क्षेत्रस्थित वनकाली मन्दिर परिसरमा १८ फिट अग्लो, आठ फिट चौडा गणेशको मूर्ति आज बिहान आयोजित धार्मिक समारोहमा अनावरण गर्नुभयो ।
पाल्पा जिल्ला र समग्र नेपालकै धार्मिक तथा ऐतिहासिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त जिल्लाको तेल्घा गाविस–४ मा २०० फिट अग्लो मन्दिर निर्माण गरेर उक्त मूर्ति त्यहाँ प्रतिष्ठापन गरिनेछ ।
सेन्टर अफ एक्सलेन्स नेपाल र गणेश शोभायात्रा सहयोग समिति पाल्पाली सङ्गम काठमाडौँको समन्वयमा आगामी चैत १३ गतेसम्म उक्त मूर्ति वनकालीमै राखिने छ ।
अनावरण समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले मन्दिर निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आद्यात्मिक चेतना जागृत गर्दै धार्मिक पर्यटन प्रवद्र्धनका माध्यमबाट देशलाई शान्ति र समृद्धितर्फ उन्मुख गराउन उक्त स्थल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले धार्मिक अनुष्ठानमा समाजका सबै पक्षको सक्रिय सहयोग अपरिहार्य भएको बताउनुभयो ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पाल्पा मात्र नभई नेपाल राष्ट्रकै पर्यटकीय पक्षलाई उजागर गर्न मन्दिरका माध्यमबाट सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
पशुपति क्षेत्रबाट उक्त मूर्तिलाई शोभायात्रा गर्दै आगामी छ महिनाभित्र पाल्पा पु¥याउने योजना रहेको उक्त संस्थाका प्रमुख एवम् काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितले बताउनुभयो ।
करिब रु एक करोडको लागतमा निर्माण गरिएको उक्त मूर्तिका निम्ति आवश्यक पर्ने गरगहनालगायत बहुमूल्य रत्न प्रतिष्ठित उद्योगपति जगदीशप्रसाद अग्रवालले प्रदान गर्नुभएको स्थापितले जानकारी दिनुभयो ।
आगामी १० वर्षभित्र झन्डै तीन हजार ३०० रोपनी जग्गामा २०० फिट अग्लो बहुउद्देश्यीय मन्दिर निर्माण गरिने लक्ष्य पूरा गर्न आम धार्मिक समुदायका साथै नेपाली जनतालाई नगद, जिन्सी, भूमि, सुनचाँदी, गरगहना दान गर्न पनि उहाँले आह्वान गर्नुभयो ।
रासस
२३ फागुन २०७२, आइतवार ०४:४७ बजे प्रकाशित